कोहलपुर (बाँके) : कोहलपुर नगर प्रहरीले नगरपालिका क्षेत्रमा अनधिकृतरुपमा राखिएका प्रचार सामग्री हटाउने अभियानलाई आक्रामक बनाएको छ । नगरपालिकासँग स्वीकृत विना बजार क्षेत्रलाई नै कुरुप बनाउने गरि राखिएका त्यस्ता प्रचार सामग्रीविरुद्ध नगर प्रहरी हर्कतमा आएको हो ।
नगर प्रहरीले आफ्नो जिम्मेवारी सम्हालेपछि हालसम्म करिव पाँच सय फ्ल्यास बोर्ड र होर्डिङ बोर्ड हटाइसकेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए ।
विज्ञापन प्रयोजनका लागि अनधिकृतरुपमा राखिएका त्यस्ता प्रचार सामाग्री हटाएर सम्बन्धित निकायलाई कारवाहीको दायरामा समेत ल्याउन थालिएको छ । अनधिकृतरुपमा आफ्नो प्रचार सामग्री राखेको पाइएपछि सिभिल बैंकलाई कारवाहीको दायरामा ल्याइएको प्रहरी प्रमुख थापाले बताए ।
नगर प्रहरीको नियन्त्रणमा रहेका फ्ल्यास बोर्ड र होर्डिङ बोर्ड जरिवाना तिराएर सम्वन्धित निकायलाई बुझाउने गरिएको थापाको भनाइ छ । नगरपालिकाको स्वीकृति विना प्रचार सामग्री राखिए विज्ञापन नियमन ऐन २०७६ अनुसार कारवाही गरिने थापाले चेतावनी दिए । कोहलपुर बजारदेखि पार्वतीपुर, रोहिणी खोला र मदनचोक क्षेत्रभित्रका अधिकांश प्रचार सामग्री हटाइएको थापाले बताए ।