नेपालगञ्ज : निर्वाचन आयोग नेपालले बिहीवार नेपालगञ्जमा मिडिया अभिमुखीकरण कार्यक्रम गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९, प्रदेशस्तर मिडिया अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले आचारसंहिताको उल्लंघनमा मिडियालाई ’वाच डग’ को भूमिका निभाउन आग्रह गरिन् । उनले विगतका निर्वाचन जस्तै यसपटक पनि मिडियाबाट निष्पक्ष भूमिकाको निरन्तरता आयोगले खोजेको बताइन् ।
उनले बदर मत घटाउन आयोगले मतदाता शिक्षालाई जोड दिँदै प्रचारप्रसारलाई अगाडि बढाएको उल्लेख गरिन् । आयुक्त तुलाधरले आचारसंहिता पालना कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै मिडियाबाट प्राप्त हुने सूचना र सन्देश आयोगका लागि कोशेढुंगा सावित हुने बताइन् । मिडियालाई सन्तुलित ढंगले समाचार सम्प्रेषण गर्न उनले आग्रह गरिन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले स्थानीय तह निर्वाचन २०७९ मा बाँकेमा पत्रकार र मिडियाले खेलेको भूमिकाको सह्राना गरे ।
मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश धनसिंह महराले मतदान कार्य स्वच्छ, निष्पक्ष र भयरहित ढंगले सञ्चालन गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा निर्वाचन आयोगका उपसचिव कमल ज्ञवालीले निर्वाचन र संचार माध्यम तथा राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक राजु शाक्यले निर्वाचनमा मिडिया र पत्रकारको भूमिकाका विषयमा प्रस्तुतिकरण गरेका थिए थियो ।