राप्तीसोनारी (बाँके) : गत असोज १९ गतेदेखिको अविरल वर्षातले पुराएका क्षतिको आंकलन तथा स्थलगत अवलोकनको लागि माओवादी केन्द्रकी युवा नेतृ तथा निवर्तमान प्रदेश सभासदस्य कृष्णा केसी (नमुना) राप्तीसोनारी र नरैनापुरका बाढी प्रभावित क्षेत्रका पुगिरहेकी छन् ।
सुरुदेखि बाढी पीडितको उद्दार, राहत र व्यवस्थापनमा खटिएकी उनी अहिले पनि बाढी प्रभावितकै घरदैलोमा रहेकी छिन् । सत्ता गठबन्धन दलबाट आसन्न मंसिर ४ गते हुन गइरहेको चुनावमा नमुना बाँके क्षेत्र नम्बर १ (क) बाट लुम्बिनी प्रदेश सभा सदस्यको उम्मेदवार बनेकी छन् ।
बाढी पीडितको उद्दार, राहत र व्यवस्थापनमा खटिएको अवस्थामा प्रदेश सभा सदस्य पदको उम्मेदवारको लागि उनको टिकट पाएकी थिइन् । नमुनाले अहिले बाढी प्रभावितको घरदैलोमा पुगेर उनीहरुका गुनासा तथा पीडाहरु सुनिरहेकी छन् ।
उनी हरेक दिन बाढी प्रभावितको घर आँगनमा पुगेर सान्त्वना दिने र राहतको लागि पहल गरिरहेकी छिन् । बुधबार र बिहीबार समेत उनीसहितको टोलि राप्ती सोनारी गाउँपालिका वडा नम्बर– १ का बाढी प्रभावित क्षेत्रमा पुगेको थियो ।
‘सबैभन्दा बढी राप्ती नदीमा आएको बाढीले कुसुमका विभिन्न गाउँहरुमा क्षती गरेको देखिएको छ’ उनले भनिन्, ‘धेरै जनाको घरबार नै बाढीले उजाड बनाइदिएको छ । पूर्ण क्षती भएकालाई घर बनाउनको लागि राहत दिनको लागि संघीय अर्थमन्त्रीसँग कुरा गरेकी छु ।’ राप्ती नदीको बाढीको समस्या हल गर्नको लागि ठूलो लगानीमा बाँध बन्न थालेको उनले स्थानीयलाई जानकारी गराएकी थिइन् ।
छलफलका क्रममा नमुनाले बाढीबाट पीडितलाई क्षणिक राहत दिनुभन्दा प्रभावकारी तटबन्ध गरेर समस्या समाधान गर्नतर्फ आफु केन्द्रित रहेको बताएकी छिन् । तत्कालिन राहतका लागि बाढी पीडितका लागि पालिका, प्रदेश र संघ सरकारलाई आग्रह गरिएको नमुनाले बताइन् ।