पश्चिम नेपालका बाढी तथा डुवान पीडितहरु राहातको पखाईमा

सदरलाइन संवाददाता २६ आश्विन २०७९, बुधबार १३:३७
 

नेपालगञ्ज : एक हप्तासम्म परेको पानीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँको जनजीवन प्रभावित भयो । तर बुधवारदेखि भने घाम लागेपछि जनजीवन केही सामान्य बन्न थालेको छ ।

अझैपनि कतिपय ठाउँमा विद्युत सेवा, सञ्चार र सडक सञ्जाल बन्द छ । लुम्बिनीको बाँके, बर्दिया, नवलपरासी र दाङमा धेरै नागरिक विस्थापित भएका छन् ।

बाढी र डुबानको समस्यामा परेका नागरिकले आफूहरुको समस्यामा गम्भीर बन्न स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली सेनाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २० राँझा, गायत्री टोल आसपासका क्षेत्र डुबानमा परी घरभित्र फसेका झण्डै ८२ घरधुरीका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा लगेको जनाएको छ ।

राप्तीसोनारी, डुडुवा र नरैनापुरका गरी बाँकेमा ६ हजार परिवार विस्थापित भएको अधिकारीहरु बताउँछन् ।


यस्तै दाङको देउखुरीमा मात्रै १० हजारभन्दा धेरै नागरिक प्रभावित भएको अनुमान छ । बाढीले लमही, राजपुर, गढवा र राप्ती गाउँपालिकाका विभिन्न वडामा क्षति गरेको थियो । राहत, उद्धारका काम भएका र विस्थापितलाई सुरक्षित ठाउँमा राख्ने काम भएको पालिकाको दाबी छ ।

बर्दियाको राजापुर नगरपालिकाका झण्डै १४ सय घर डुबानमा परेका छन् । राजापुर नगरपालिका वडा नम्बर १, दौलतपुरका लोकराज ढुंगानाले बस्ती नै डुबानमा पर्दासमेत सरकारले उद्धार र राहतमा ध्यान नदिएको गुनासो गरे ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तीन वटै प्रदेशका कतिपय ठाउँमा विद्युत सेवा, सञ्चार र सडक सञ्जालसमेत बन्द छ । कर्णाली राजमार्ग खुलाउन झण्डै दुई हप्ता लाग्न सक्ने सडक डिभिजन कार्यालयको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा धान बालीमा ठूलो क्षति, क्षतिको विवरण संकलन गरिँदै

२६ आश्विन २०७९, बुधबार १३:३७
नेपालगञ्ज : केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञान केन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ । अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन […]