नेपालगञ्ज : बाँकेमा लामो समयसम्म पानी नपर्दा ६० प्रतिशत खेत बाँझै छ । आकाशे पानीको भरमा खेती गर्नुपर्ने जिल्लाका अधिकाँश स्थानमा सिँचाई अभावमा रोपाई हुन नसकेको हो ।
कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईका अनुसार खेतीका लागि पर्याप्त पानी चाहिने बेलामै बर्षात नभएपछि जिल्लाका कतीपय स्थानको रोपाइ प्रभावित भएको छ भने अत्यधिक गर्मी र पानी अभावका कारण लगाएको बाली सुक्न थालेको छ ।
असारको दोस्रो साता पहिलोपटक परेको पानी र सिँचाई सुविधा पुगेका केही स्थानमा धान रोपाई गरेपनि आकाशे पानीको भर पर्ने किसानले खेत बाँझै राखेको उनको भनाइ छ ।
गत वर्ष पर्याप्त वर्षा हुँदा हालसम्म जिल्लामा ९५ प्रतिशत रोपाई सकिएको थियो । तर यस वर्ष पानी नपर्दा हालसम्म करिव ४० प्रतिशत मात्रै रोपाई भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । जसमध्ये सबैभन्दा बढी राप्तीसानोरीमा ३० प्रतिशत र नरैनापुरमा १० प्रतिशत मात्रै धान रोपाई भएको छ ।
पानी नपरेपछि किसानहरु नालाको फोहोर पानी मोटर पम्पको सहायताले तानेर सिँचाई गर्न बाध्य छन् । पानी पर्ने आसमा जेनतेन रोपाई गरेका किसानपनि लामो समयसम्म पानी नपर्दा समस्यामा परेको बताउँछन ।