दाङ : दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामुहिक बलात्कार भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
एसपी काफ्लेका अनुसार घटनामा संलग्न भएको आरोपमा तुलसीपुर–५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुई जना भने फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको उनले बताए ।
युवाको समूहले युवतीलाई फकाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको भनाई छ । पीडित युवतीले घरमा गएर बताएपछि प्रहरीले शुक्रबार मात्र घटनाको बारेमा जानकारी पाएको थियो ।
पीडित युवतीको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।