कञ्चनपुर : भारतीयले झुक्याएर भारततर्फ लैजाँदै गरेकी एक किशोरीको दोधारा चाँदनीको नेपाल भारत दशगजा क्षेत्रबाट उद्धार गरिएको छ ।
दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित बाबाथान प्रहरी चौकीका इन्चार्ज कृष्णदत्त भट्टको कमाण्डमा गएको टोली र माइती नेपाल कञ्चनपुरको संयुक्त टोलीले दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजनजिक नेपाल–भारत सीमा स्तम्भ ७९८ (बिपी १५) दशगजा क्षेत्रमा शुक्लाफाँटा नगरपालिका–१० बस्ने वर्ष अन्दाजी १९ की किशोरीको शनिबार उद्धार गरेको हो ।
किशोरीलाई भारत लग्न लागेका ग्राम बलरामपुर पोष्ट जितौरिया पुरनपुर पिलिभित उत्तर प्रदेश भारत निवासी वर्ष २९ को पवन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
उद्धार गरिएकी किशोरीले कञ्चनपुरको डोके बजारको एक होटलमा काम गर्दै आएको र भारतीय नागरिक पवनले होटलमा दिनुपर्ने रकम ४ हजार लिन आफूसँग पठाइदिन होटलका मालिकसँग आग्रह गरेको बताएकी छन् ।
‘मालिकले मलाई पैसा लिन जाउ भने, महेन्द्रनगरसम्म जाऔं, त्यही बैंकबाट पैसा निकालेर दिउँला भनेर महेन्द्रनगरसम्म ल्याए । मलाई थाहै भएन। म पहिले कहिल्यै यता आएकी थिइनँ‚’ किशोरीले भनिन् । आफूलाई भारत लग्न लागेको विषयमा आफू अनभिज्ञ रहेको उनको भनाइ छ ।
माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले विशेष सूचनाको आधारमा बाबाथान प्रहरी चौकीका इन्चार्ज भट्टसँग समन्वय गरी कञ्चनभोजको दशगजा क्षेत्रबाट झुक्याएर भारत लग्न लागेको अवस्थामा किशोरीलाई उद्धार गरिएको बताइन् ।