खजुरा क्यान्सर अस्पतालमा पाठेघरको मुखको अप्रेशन शुरु

सदरलाइन संवाददाता २ चैत्र २०७८, बुधबार १४:४६
 

नेपालगञ्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ब्राकिथेरापी मेसिन जडानसँगै पाठेघरको मुखको क्यान्सरको अप्रेशन शुरु गरिएको छ ।

तीन करोड बढीको ब्राकिथेरापी मेसिन जडान गरिएपछि खजुरामा क्यान्सरका बिरामी आउने क्रम शुरु भएको छ ।

देशभरमै वीर अस्पताल र भरतपुर क्यान्सर अस्पतालपछि खजुरामा मात्रै ब्राकिथेरापी मेसिन रहेको छ । निजी क्षेत्रमा काठमाण्डौको नेपाल क्यान्सर अस्पतालले यो सेवा दिइरहेको छ ।

बर्दिया राजापुरका कमलबहादुर चौधरीले श्रीमतीको पाठेघरको पहिलो र दोस्रो अप्रेशन भरतपुर क्यान्सर अस्पतालमा गराएका थिए । तेस्रो अप्रेशन खजुरा क्यान्सर अस्पतालमा गराएका छन् ।

तीन पटक अप्रेशन गर्दा खजुरामा ४५ हजार रुपैयाँ खर्च लाग्छ । निजी अस्पतालमा यही सेवा लिँदा एक लाख खर्च हुने चिकित्सकहरु बताउँछन् ।


१५ महिना भरतपुर क्यान्सर अस्पतालमा काम गरेका खजुराका मेडिकल फिजिसिष्ट डा तीर्थराज अधिकारीले खजुरामा ब्राकिथेरापी मेशिन जडान भएपछि चितवन र काठमाण्डौबाट समेत बिरामी आउन थालेको बताए ।

अस्पतालमा अन्तर्राष्ट्रिय मेडिकल फिजिक्स सर्टिफिकेशन बोर्डबाट रेडियशन अन्कोलोजी फिजिसिष्टको मान्यता पाएका डा अधिकारी र रेडियशन अन्कोलिष्ट डा मुकेश यादवले ब्राकिथेरापी सेवा दिइरहेका छन् । डा अधिकारीले पश्चिम क्षेत्रका बिरामीले आफ्नै ठाउँमा सुलभ र गुणस्तरीय उपचार सेवा पाएको बताए ।

अस्पतालका निर्देशक डा कृष्ण आचार्यले खजुरामा नयाँ प्रविधिको प्रयोग बढिरहेको बताए । ‘डिपार्टमेन्टहरु थपिएका छन् । बिरामीको चाप बढ्दो छ’, निर्देशक डा आचार्यले भने, ‘अहिले यहाँका बिरामीमा ५० प्रतिशत क्यान्सर र ५० प्रतिशत अन्य रोगका छन् ।’

खजुरा क्यान्सर अस्पतालको व्यवस्थापन समितिले हालै खजुरा क्षेत्रका बिरामीलाई ओपीडी निःशुल्क गरेको छ । समितिका अध्यक्ष किशोर थापा नियुक्ति हुनेबित्तिकै खजुरावासीका लागि ओपीडी निःशुल्क गरेका हुन् । अस्पतालले ओपीडी शुल्क ५० रुपैयाँ लिँदै आएको थियो । खजुरावासीका लागि ओपीडी निःशुल्क गर्दा बिरामीको चाप बढ्ने विश्वास गरिएको छ ।

महायज्ञ गरेर संकलन भएको रकमबाट क्यान्सर अस्पतालको निर्माण शुरु गरिएको थियो । पछि यसलाई सरकारीकरण गरेर बाँकेका नेता पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा दिइएको हो । (देश सञ्चार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि

२ चैत्र २०७८, बुधबार १४:४६
नेपालगन्जः पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २१३ जना […]