रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता सकियो, मानवीय सहायताको व्यवस्था गर्ने सहमति

एजेन्सी २० फाल्गुन २०७८, शुक्रबार १३:३८
 

एजेन्सी : रुस र युक्रेनका प्रतिनिधिबीच भएको दोस्रो चरणको वार्ता सकिएको छ । दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमित गर्दै दोस्रो चरणको वार्ता टुङ्गिएको हो ।

युक्रेनका एक वरिष्ठ अधिकारीले आफूहरूले चाहे जस्तो नतिजा ननिस्के पनि मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने गरी दोस्रो चरणको वार्ता सकिएको बताए । ‘दोस्रो चरणको वार्ता सकिएको छ तर युक्रेनले खोजेको नतिजा अझै प्राप्त भएको छैन’ युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलियाकले ट्विटरमा लेखेका छन्, ‘मावनीय सहायताका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने निर्णय मात्रै भएको छ ।‘

रुसका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले समेत मानवीय सहायताका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने सहमति भएको पुष्टि गर्दै दोस्रो चरणको वार्तालाई ‘ठूलो प्रगति’ भनेका छन् । यही आधारमा युद्ध विराम गर्न सकिने पनि उनको भनाइ थियो ।

पुटिन भन्छन्–सैन्य कारबाही योजना अनुसार अघि बढ्छ


यसैबीच, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी ‘सैन्य कारबाही’ योजना अनुसार अघि बढ्ने बताएका छन् । उनले रुसको सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै सैन्य कारबाही योजना अनुसार अघि बढ्ने बताएका हुन् ।

‘विशेष सैन्य कारबाही योजना र कार्यतालिका अनुसार नै अघि बढ्ने कुरा बताउन चाहन्छु’ पुटिनले भने, ‘हामीले नवनाजीहरूसँग युद्ध गरिरहेका छौं । रुसी र युक्रेनीहरू एउटै मानव हुन् भन्ने आफ्नो धारणा कहिल्यै त्याग्ने छैन ।‘ पुटिनले रुसी सैनिकलाई ‘नायक’ भन्दै प्रशंसासमेत गरेका छन् ।

त्यस्तै, रुसी सेनाले युक्रेनमा युद्ध भइरहेका स्थान छोड्नका लागि सर्वसाधारणलाई सुरक्षित मार्ग उपलब्ध गराउने समेत पुटिनको भनाइ थियो । उनले राष्ट्रिय सुरक्षा परिषद्का सदस्यसँग भिडियोमा कुरा गर्दै युक्रेनका राष्ट्रवादीले सर्वसाधारणलाई सुरक्षित स्थान जान नदिएको समेत बताए। राष्ट्रवादीले सर्वसाधारणलाई मानव ढाल बनाएको पनि उनको आरोप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टुर दि ठाकुरद्वाराको चौथो संस्करण शुरु

२० फाल्गुन २०७८, शुक्रबार १३:३८
नेपालगञ्ज : टुर दि ठाकुरद्वाराको चौथो संस्करण शुक्रवारबाट शुरु भएको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरबाट शुरु भएको यात्रा नेपालगञ्ज बजार परिक्रमा गरि जानकी, खजुरा, बर्दियाको बढैयाताल, बासगढी, कतर्निया, भुरिगाँउ हुँदै ८० किलोमिटरको साइकल यात्रा पुरा गरि ठाकुरद्वारा पुगेको छ । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गरेको टुर दि ठाकुरद्वारामा २ सय […]