आइतवार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईंदै

सदरलाइन संवाददाता २ माघ २०७८, आईतवार १४:२९
 

नेपालगञ्ज : विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आइतवार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईंदैछ ।

‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको हो । भूकम्पले नभई कमजोर संरचनाले मानवीय लगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा तय गरिएको हो ।

विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको छ । भविष्यमा आउन सक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो ।

यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए ।


नौ सय भन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

भूकम्पपछिको पुनःनिर्माण भूकम्प प्रतिरोधी भएकाले सुरक्षित रहेको जनाइएको छ । पश्चिम नेपालमा ५०० वर्षदेखि ठूला भूकम्प नगएकाले शक्ति सञ्चय भई बसेको विभिन्न अध्ययनले देखाएको छ ।

भविष्यमा आउनसक्ने भूकम्पले त्यहाँ ठूला क्षति हुनसक्ने विज्ञको अध्ययनबाट देखिएकाले त्यस क्षेत्रमा जनचेतना फैलाउने कामलाई विभाग लगायत सरोकार भएका निकायले प्राथमिकतामा राखेका छन् ।

दाङबाट पश्चिमका जिल्लामा अहिलेदेखि नै भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि विभागले चेतना जगाउने अभियान सुरु गरेको छ । यसका लागि त्यहाँका स्थानीय सरकारसँग पनि सहकार्य गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पनि ‘बुस्टर डोज’ खोप लगाउन शुरु

२ माघ २०७८, आईतवार १४:२९
नेपालगञ्ज : बाँकेमा पनि कोरोना बिरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन शुरु गरिएको छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिई सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको हो । २०७७ चैत मसान्तसम्म पहिलो मात्रा खोप लगाई समयावधि भित्र दोस्रो मात्राको खोप लगाएर ६ महिना […]

ताजा अपडेट