एमसीसी पास गर्छौ भनेर पत्र लेखिएको भन्ने देउवाको भनाइमा सत्यता छैन’

सदरलाइन संवाददाता १९ कार्तिक २०७८, शुक्रबार १८:१०
 

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाले भने झै ‘एमसीसी पास गर्छौ’ भनेर पत्र नलेखेको प्रष्टिकरण दिएका छन् ।

देउसी खेल्न निवास आएका पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्छौं भनेर चिठ्ठी लेखेको प्रधानमन्त्रीको दाबीको खण्डन गरेका हुन् । अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति नभई पारित गर्न नसक्ने भएकाले समय चाहिन्छ भनेर एमसीसीलाई चिठ्ठी पठाएको भने स्वीकार गरेका छन् ।

अध्यक्ष प्रचण्डले भने– ‘हिजो शेरबहादुरजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डजी र मैले चिठ्ठी पठासकेको छु भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठ्ठी पठाएको होइन । हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसका निम्ति हामीलाई समय चाहिन्छ । यत्ति भनेर पत्र लेखिएको हो । हामी पास गर्छौं भनेर लेखेको होइन ।’


एमसीसी सम्झौता गर्दा संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान नभएको पछि थपिएका कारण यस्तो मस्या आएको समेत अध्यक्ष प्रचण्डको भनाइ रहेको छ । उनले भने– ‘सुरुमा सहमति हुँदा एमसीसी सम्झौता संसदमा लैजानुपर्ने, अनुमोदन गर्नुपर्ने केही थिएन । अमेरिकाले पैसा दिने, नेपालले दिने र विकास गर्ने भन्ने मात्र थियो । त्यतिबेला हामी पनि सरकारमा थियौं, शेरबहादुर देउवाकै नेतृत्वमा सरकार थियो । त्यतिबेलाको अर्थमन्त्रीले सम्झौता गरेको हो । त्यो सम्झौतामा संसदमा लगेर ऐन सरह हुने गरी अनुमोदन गर्ने कुरामा थिएन । पछि त्यसमा त्यो थपियो । त्यसले समस्या ल्याएको हो ।’

बिहीबार बेलायत भ्रमणबाट फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसीसी पास गर्छौ भनेर प्रचण्ड र आफूले हस्ताक्षर गरेर पठाइसकेको बताएपछि व्यापक आलचोना र विरोध भइरहेको बेला अध्यक्ष प्रचण्डले यस्तो प्रष्टिकरण दिएका हुन् । दृष्टि अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा साढे ४ लाख नगदसहित ४८ जुवाडे पक्राउ

१९ कार्तिक २०७८, शुक्रबार १८:१०
नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले नेपालगञ्जको एक जुवाखालबाट ४ लाख ६६ हजार ७७ रुपैयाँ नगदसहित ४८ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीले एकै पटक एउटै जुवाखालबाट यति ठुलो संख्यामा पक्राउ गरेको पहिलोपटक हो । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जबाट गएको टोलीले शनिवार बिहान ४ बजे नेपालगञ्ज […]