बाँके : अविरल वेमौसी वर्षातका कारण चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग शुक्रबार दिउँसोबाट खुलेको छ । मान्म–गमगढी सडक खण्डको पिलीमा पहिरो गएपछि अवरुद्ध सडक शुक्रबार दिउँसोबाट खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख चक्रबहादुर शाहका अनुसार शुक्रबार विहान सम्म एकतर्फी मात्रै सडक सुचारु गरिए पनि दिउँसो बाट भने दुवैतर्फ खुलेको हो । ‘शुरुमा राजमार्गमा रोकिएका सवारीहरुलाई गन्तव्यमा पठायौं’- शाहले भने, ‘सवारी चाप कम भएपछि पुनः दुवैतर्फ सडक सुचारु गरिएको हो ।’
बम विस्फोटपछि डोजरको ब्रेकरले सडकमा ढुंगा फुटाएर सडक सुचारु भएको हो । दशैँ मानेर रारा घुम्न पर्यटकहरु, सुर्खेततर्फ फर्कने, जुम्ला, कालिकोट र मुगुतर्फबाट जाने यात्रुहरु सडक अवरुद्ध सास्ती खेप्नु परेको थियो ।