नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । तलव वृद्धि, भत्तालगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको संयुक्त नेतृत्वमा सोमवारदेखि कर्मचारीहरु हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएको आन्दोलन परिचालन समितिका संयोजक यम बहादुर खड्काले जानकारी दिए ।
आन्दोलनबारे जानकारी दिन सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक खड्काले माग सम्वोधन नभए मंगलवार प्रशासनिक कार्यालयहरुमा तालाबन्दी गरिने बताए ।
यस्तै बुधवार आपतकालिन सेवा बाहेकका कार्यहरु बन्द गरिने उनले बताए । तलवभत्ता वृद्धि हुनुपर्ने, दरवन्दी सिर्जना, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्नेलगायतका माग उनीहरुको छ ।
व्यवस्थापन पक्षले भने कर्मचारीका माग तत्काल पूरा गर्न नसकिने स्पष्ट पारेको छ । मेडिकल कलेजका निर्देशक डा सुरेश कनोडियाले कर्मचारीका माग जायज भएपनि तत्काल पूरा गर्न सकिने अवस्था नरहेको बताए ।