नेपालगञ्ज : नेपालगञ्जको जमुनाह नाका भएर दैनिक करिव १५ सय व्यक्तिहरु स्वदेश भित्रिरहेका छन् । दसैं तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको शिलशिलामा भारतका विभिन्न सहर पुगेका नेपालीहरु चाडपर्व मनाउन स्वदेश फर्किरहेका हुन् ।
लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवाहरु रोजीरोटीका लागि भारत जाने गरेका छन् । मौसमीरुपमा भारत जानेहरु महत्वपूर्ण चाडपर्व र खेतीपातीको समयमा भने स्वदेश फर्किने गर्छन् ।
स्वदेश फर्किदै गरेका उनीहरुले नाकामा भारतीय तथा नेपाली सुरक्षाकर्मीबाट दुव्र्यवहारसँगै अनावश्यक झमेला वेहोर्नु परेको गुसानो सुनाउने गर्छन् ।
भारतीय सुरक्षा बल एसएसवी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँचका नाममा रकम समेत अशुल्ने गरेको उनीहरुको दुखेसो छ । तर प्रहरीले भने उनीहरुको सहजयात्राका लागि आफुहरुले सहजिकरण गर्दै आएको दावी गर्ने गरेको छ ।
यसरी भारतबाट फर्किएका नागरिकलाई गन्तव्यसम्म पुर्याउनेदेखि उनीहरुको गुनासो सम्वोधनका लागि जमुनाह नाकामा तत्काल नागरिक सहायता कक्ष सञ्चालनको तयारी समेत भइरहेको जमुनाह प्रहरीका इन्चार्ज पूर्ण खत्रीले जानकारी दिए ।