नेपालगञ्ज : शरिरको अक्सिजन प्रतिशत मापनका लागि प्रयोग गरिने अक्सिमिटर चर्को मूल्यमा विक्री गरेको पाइएपछि नेपालगञ्जको इशा मेडिकल हल तत्कालका लागि बन्द गरिएको छ ।
२ हजार २ सय खरिद मूल्य पर्ने उक्त अक्सिमिटर यो मेडिकलले ३ हजार एक सयमा विक्री गरेको पाइएपछि जरिवाना सहित तत्कालका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हरिशचन्द्र शर्माले जानकारी दिए ।
उनका अनुसार, २ हजार २ सयमा खरिद गरिएको अक्सिमिटर यो मेडिकलले बील सच्चाएर २ हजार ८ सयमा खरिद गरेको देखाएको छ । खरिद मूल्यको करिव २० प्रतिशत नाफा लिएर विक्री गर्न पाइने भएपछि उस्ले ३ हजार एक सयमा अक्सिमिटर विक्रीवितरण गरेको थियो ।
अक्सिमिटर चर्को मूल्यमा विक्री भइरहेको जनगुनासो आएपछि संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा अक्सिमिटर चर्को मूल्यमा विक्री वितरण गरेको पाइएपछि समितिले दुई लाख जरिवाना गरेको हो ।
औषधि व्यवस्था विभाग शाखा कार्यालयका अनुसार, अनुगमनका क्रममा औषधि विक्रीका लागि स्विकृत प्राप्त व्यवसायी समेत नभेटिएको पाइएको छ । त्यही भएर मेडिकलका सञ्चालकलाई औषधि व्यवस्था विभागमा हाजिर हुन निर्देशन दिइएको विभागले जनाएको छ ।