नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा शुक्रवारदेखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका विपद् ब्यवस्थापन समितिको बिहीबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपमेयर उमा थापा मगरले जानकारी दिइन् ।
नेपालगञ्जमा पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो । मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
बैठकले भारतबाट आउनेहरुको सीमानाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजिन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ । मास्क अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनूगमनलाई पनि कडाई गर्ने निर्णय गरेको छ ।
मास्क नलगाई कारोबार गर्ने पसल ब्यवसाय कम्तिमा एकसाताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर मास्क नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।