दाङ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै कोरोना विशेष अस्पतालको स्तरोन्नति गरिने बताएका छन् । दाङ देउखुरीको गढवामा निर्माण गरिएको सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले कोरोनाका लक्षण भएका विरामीको आइसियुमा उपचार गर्न थालिएको भन्दै अब प्रदेशका ४ वटै अस्पतालमा थप सेवा विस्तार गरिने बताए ।
आधुनिक विधि प्लाज्मा थरापिसँगै परम्परागत विधि आयुर्वेदिक तथा प्राकृतिक विधिको पनि प्रयोग गर्ने भन्दै उनले प्रदेशमा आधुनिक तथा परम्परागत विधिबाट पनि उपचार थालिने जानकारी दिए ।
कोरोनाबाट बच्नकालागि स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले संक्रमितमध्ये ७५ प्रतिशत भन्दा बढी निको भएकोले डराउनु पर्ने अवस्था नरहेको आस्वस्त पारे । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा उनले सर्पदंश उपचार केन्द्रलाई व्यवस्थित गरी सञ्चालन गर्न अनुरोध गरे ।