नेपालगञ्ज : बाँकेमा पहिलो पटक कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार शुरु भएको छ । बाँकेका दुई जनाले सोमवार प्लाज्मा अर्थात् रक्तदान गरेपछि कोरोना संक्रमितको प्लाज्मा विधिबाट उपचार शुरु भएको हो ।
पश्चिम नेपालमै सम्भवतः पहिलो पटक नेपालगञ्जको भेरी अस्पतालमा कोरोनाका गम्भिर बिरामीहरुको प्लाज्मा थेरापीमार्फत उपचार शुरु गरिएको बताइएको छ । कोरोनाका गम्भिर विरामीको उपचारका लागि नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल र कोहलपुरका रामराज चौधरीले प्लाज्मा दान गरेको अस्पतालका डा. खगेन्द्रजंग शाहले बताए ।
प्लाज्मा थेरापीका विज्ञसमेत रहेका डा. शाहका अनुसार वडाध्यक्ष रिजालले दान गरेको प्लाज्मा सल्यानका कोरोना संक्रमित २९ वर्षीय एक व्यक्तिलाई चढाइने छ । कुनै व्यक्तिलाई कोरोना पुष्टि भई १४ दिन आइसोलेशन बसेर संक्रमणमुक्त भएपश्चात् थप १४ दिनपछि आफ्नो रगतमार्फत प्लाज्मा दान गर्नसक्ने डा. शाहले जानकारी दिए ।
सामान्य रगत जस्तै प्लाज्मालाई पनि एक वर्षसम्म स्टोर गर्न सकिने भन्दै उनले कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्टयाएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रियानै प्लाज्मा थेरापी भएको बताए । यसले संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने उनको भनाई छ ।