नेपालगञ्ज : भेरी अस्पतालका दुई चिकित्सकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. संकेत रिसालको सोमवार कोरोना रिपोर्ट पोजेटिभ आएको हो भने वरिष्ठ फिजिशियन डा. राजन पाण्डेलाई मंगलवार कोरोना पुष्टि भएको हो ।
ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उनले सोमवार स्वाब दिएका थिए । भेरी अस्पतालमा गरिएको पीसीआर परिक्षणमा मंगलवार कोरोना रिपोर्ट पोजेटिभ आएको हो । डा. पाण्डे कोरोना भाइरस संक्रमितको उपचारमा अग्रस्थानमा रहेर खटेका थिए ।
आफुलाई जोखिममै राखेर भएपनि डा. पाण्डेले बिरामीलाई उच्च मनोबलका लागि प्रेरित गर्दै आएका थिए । संक्रमणपछि दुबै चिकित्सक भेरी अस्पतालको आइसोलेशनमा बसेका छन् ।
यसअघि भरी अस्पतालका कोरोना फोकल पर्सन डा. रिसाललाई भाइरस संक्रमण देखिएको थियो । संक्रमणमुक्त भएपछि पुनः कोरोना भाइरस संक्रमणविरुद्धको अभियानमा खटेर बिरामीको सेवामा तल्लीन हुने डाक्टरद्वयको भनाई छ ।