सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको तीन वटा गाउपालिका शनिबार बिहानसम्म कोरोना मुक्त रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेको नरैनापुर, डुडुवा र जानकी गाँउपालिका गरि ३ वटा गाँउपालिका कोरोना मुक्त भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले शनिबार बिहानसम्म बाँकेको नरैनापुर, डुडुवा र जानकी गाँउपालिका गरि ३ वटा गाँउपालिका कोरोना मुक्त भएको बताए ।
बाँकेमा शनिबार ५ जना कोरोना संक्रमित डिस्चार्ज भएसंगै यी ३ गाँउपालिका कोरोना मुक्त भएका हुन् । बाँकेमा कोरोना निको भएर घर फर्कनेको संख्या शनिबारसम्म ३ सय ६६ पुगेको छ । बाँकेमा १५ जना संक्रमित मात्र आइसोलेसनमा रहेका छन् ।
आइसोलेसन सेन्टर पिपरी कोहलपुरबाट कोहलपुर नगरपालिकाका २ जना पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा आइसोलेसनबाट जानकी गाउँपालिकाकी एक महिला, आइसोलेसन केन्द्र फत्तेपुरबाट राप्तीसोनारीका एक पुरुष र आइसोलेसन केन्द्र बनकटुवाबाट एक जना पुरुष निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन श्रेष्ठले जानकारी दिए ।
उनले संक्रमित नभएको अवस्थामा आईशोलेशन पनि धमाधम बन्द गर्न थालिएको बताए । उनले खजुरारोडको लायन्स डेन्टल अस्पताल र कृषि तालिम केन्द्र खजुराको आईशोलेशन सेन्टर बन्द गरिएको जानकारी दिए । हाल सञ्चालनमा रहेका १२ वटा मध्ये १० वटा खालि रहेको बताए ।