सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । गाउँपालिकाको सोमवार सम्पन्न आठौ गाउँसभामा अध्यक्ष रामनिवास यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना भाइरस महामारीले अस्तव्यस्त बनाएको आर्थिक अवस्थालाई सुधार्न कृषिलाई प्राथमिकता दिईएको छ ।
कृषिमा उत्पादन वृद्धि गर्न अध्यक्ष कृषि तथा सिँचाई कार्यक्रम सञ्चालन गरी कृषियोग्य भूमिमा आधुनिक सिँचाई प्रणालीबाट सिँचाई सुविधा पुग्ने गरी पूर्वाधार निर्माण गर्ने नीति लिईएको छ ।
अध्यक्ष यादवले कोभिड १९ का कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका युवालाई व्यवसायिक कृषि तथा पशुपालनमा प्रोत्साहन गर्न युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरी कृषि उपज बिक्रिका लागि ६ वटै वडामा आधुनिक कृषि तथा हाटबजार स्थापना गरिने बताए ।
गाउँपालिकामा आगामी आर्थिक वर्षमा अर्गानिक तरकारी उत्पादन तथा प्राङ्गारिक खेती प्रणालीमा जोड दिदै अध्यक्षसँग साना तथा मझौला किसान सुदृढिकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
विशेष नमूना वस्ती निर्माण गर्दै गाउँपालिकालाई नमूना कृषि र शिक्षा ग्रामिण वस्ती विकास कार्यक्रम लागु गरी शिक्षाको माध्यमबाट कृषि उत्पादनमा टेवा दिईने अध्यक्ष यादवले बताए । गाउँपालिकाले आगामी आर्थिक वर्षमा विशेषज्ञ सेवासहित २५ शैय्याको अस्पताल सञ्चालन गर्ने र सुविधायुक्त एम्वुलेन्स सञ्चालनको व्यवस्था गर्ने नीति लिएको छ ।