सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जबाट शनिवार संकलन गरिएको थ्रोट स्वाब परीक्षणका लागि काठमाण्डौ पठाइएको छ । नेपाली सेनाको बिमानबाट ४ सय ५ जनाको थ्रोट स्वाब परीक्षणका लागि काठमाण्डौ पठाइएको हो ।
नेपालगञ्जको टांगा स्टेशन क्षेत्रबाट शनिवार संकलन गरिएको १ सय ६२ जनाको र बर्दियाका २ सय ४३ जनाको स्वाब नेपाली सेनाको बिमानबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
भेरी अस्पतालमा एक दिनमा १ सय स्याम्पल मात्र परीक्षण गर्न सकिने भएकाले बढि भएका स्याम्पल काठमाण्डौ पठाइएको श्रेष्ठले स्पष्ट पारे । काठमाण्डौ पठाईएका स्याम्पलको रिपोर्ट २४ घण्टाभित्रै आउने भएकाले परीक्षण सहजताका ४ सय ५ वटा स्याम्पल काठमाण्डौ पठाईएको श्रेष्ठले जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ स्थित टांगा स्टेशनमा स्वाब संकलन गर्ने कार्य सकिए पनि नगर भवन आसपासको क्षेत्र तथा ११ नं. वडाको नाका टोलबाट स्वाब संकलन भईरहेको जानकारी दिँदै श्रेष्ठले त्यस क्षेत्रबाट संकलन गरिएका नमुनाको परीक्षण भेरी अस्पतालको प्रयोगशालामा गर्ने बताए ।