सदरलाइनडटकम,
नेपालगञ्ज : स्थानीय प्रशासनले कोबिड–१९ नोबल कोरोनाको संक्रमणबाट जोगिन बढी जनसम्पर्क हुने धार्मिकस्थलका प्रमुख तथा उनका सहयोगीको सुरु गरेको कोरोना जाँचमा बाँकेको नरैनापुर गाउँपालिकाका ५६ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले शुक्रबार नरैनापुर क्षेत्रका बिभिन्न धार्मिक स्थलका ५६ जनाको स्वाब संकलन गरीएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको जानकारी दिए ।
नरैनापुरमा रहेका मन्दीर, मस्जिद र मदरसाका ३१ जना मौलाना, मन्दिरका ७ जना पुजारी तथा क्वारेन्टाइनमा रहेका १५ जना, क्वारेन्टाइनका २ जना स्वास्थ्यकर्मी र सहयोगी १ जना गरी ५६ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।
संकलन गरिएको स्वाब परिक्षणका लागि भेरी अस्पताल पठाइएको थियो । यसैबिच नेपालगञ्ज शिक्षण अस्पताल नेपालगञ्जबाट परिक्षणका लागि भेरी पठाईएका ३ जनाको कोरोना परिक्षणको रिपोर्ट समेत नेगेटिभ देखिएको छ ।