सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको प्रभावितलाई पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको पहलमा समाजवादी पार्टी बाँकेले नेपालगञ्जमा राहत वितरणलाई तीब्रता दिएको छ ।
सो पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा ६० घरपरिवालाई राहत वितरण गरेको समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दिन राईले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिका ४ मा मात्रै १७ जनालाई राहत प्रदान गरिएको छ । वडा नम्बर ४ का युवा समाजसेवी वसिम अन्सारी मक्खनको विषेश पहलमा समाजवादी पार्टीले १७ जनालाई राहत वितरण गरेको हो ।
वडा नम्वर ४ का स्थानीयले राहत नपाएर भोकभोकै बस्नु परेको दुखेसो गरेपछि पूर्वमन्त्री राईले खाद्यान्न लगायतको राहत उपलब्ध गराएका हुन ।
त्यस्तै अन्य वडामा ४३ घरपरिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले जानकारी दिए । उनले लकडाउनका कारण कुनै पनि मानिसहरु भोकभोकै बस्न नपरोस् भन्ने उद्देश्यले पूर्वमन्त्री राईको पहलमा राहत दिने काम भइरहेको बताए ।
यो एक महिनाको अवधिमा सांसद राईले आफ्नो निर्वाचन क्षेत्रका सात हजार बढीलाई राहत दिइसकेको बताइएको छ । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित राईले लकडाउन शुरु भएयता हालसम्म आफूले व्यक्तिगत रुपमा सात हजार बढी परिवारलाई उनिहरुको घरमै राहत पुरयाएको बताए ।