मध्यरातमा समाजवादी र राजपाको पार्टी एकता

११ बैशाख २०७७, बिहीबार ०७:४७
 

सदरलाइनडटकम,
काठमाडौं  : संघिय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।
पार्टी एकता समानताको आधारमा हुने सहमतिपत्रमा उल्लेख छ ।

सरकारले सोमबार मात्र पार्टी फुटाउन सहज बनाउने गरी अध्यादेश ल्याएको थियो र समाजवादी पार्टीको एउटा समूह अलग गराउन चाहेको थियो । त्यसलाई रोक्ने प्रयाससँगै दुई दलले एकता वार्तालाई टुंगोमा र्पुयाएका हुन् ।


स्रोतका अनुसार नेतृत्वको विषय टुंगिएको छैन । तर दुवै पार्टीका नेताहरुले यसमा समस्या नहुने बताएका छन् ।

अहिले समाजवादीमा संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव छन् भने राजपामा ६ जना अध्यक्ष मण्डलका सदस्य छन् ।

पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् । अनलाइनखबरबाट

Next Post

बाँकेमा फौजिकीराको प्रकोपका कारण बसन्ते मकै नष्ट

११ बैशाख २०७७, बिहीबार ०७:४७
सदरलाइनडटकम, नेपालगञ्ज :  बाँकेका किसानले लगाएको बसन्ते मकैमा फैजिकिराको प्रकोप देखिएको छ । धानखेतीमा फौजिकिराको प्रकोप व्यहोरेका बाँकेका किसानहरु बसन्ते मकैमा पनि सोही समस्या प्रकोपकै रुपमा व्यहोर्न बाध्य भएका छन् । बाँकेको डुडुवा गाँउपालिका वडानं ६ हिरमिनियाका किसानले लागाएको बसन्ते मकैमा लागेको फौजिकिराले सय बढी विगाहको बसन्ते मकै नष्ट पारेको […]