सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ कोरना भाइरसको संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनका कारण प्रभावितले आवश्यक राहत नपाएको गुनासो गरेका छन् । यस्ता विद्यार्थीको डेरामा खाने खर्चको अभाव भएको कारण उनीहरु भोकै बस्नु पर्ने अवस्था आएको छ ।
नेपालगञ्जका विभिन्न कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीले भोकै बस्नु परेको भन्दै आफुहरु बस्दै आएको वडा कार्यालय धाउदा पनि राहत नपाएको वडा नं.९ मा बस्दै आएका हुम्लाका खुमबहादुर रावलले गुनासो गरे ।
उनले नेपालगञ्ज उपमहानगरपालिकामा आफुहरु भोकै बस्नु परेको जानकारी गराउदै आउदा चामल र दाल मात्र पाएको बताए । उनले भने–‘ ५ किलो चामल र १ किलो दालमात्र दिनु भएको छ । न नुन छ न तेल नै छ । चामल पनि खान योग्य छैन ।’
उनी जस्ता ६०/ ७० जनाको समुह नेपालगञ्ज उपमहानगर राहतको माग गर्दै पुगका छन् । उनीहरुमा मुगु, हुम्ला, कालिकोट, सल्यान, प्युठान, दैलेख लगायतका जिल्लाको रहेका छन् ।
उपमहानगरले भने तत्काल आपतकालिन अवस्थामा वितरणको लागि चामल र दाल रहेको कारण भएको सामान बितरण गरिएको जनाएको छ ।
उपमहानगरका उप प्रमुख उमा थापामगरले उप महानगरसंग कुनै पनि बजेट नभएको बताउदै प्रारम्भिक चरणमा वडा तहबाटै राहत वितरण गर्न सुरु गरीएको जानकारी दिईन । ‘केही विद्यार्थीहरु राहतको अपेक्षा राखेर उपमहानगर आउनु भएको थियो । हामीसंग भएको चामल र दाल बितरण गरेका हौ केहीले लिएर जानुभयो केही त्यति लिदैनौ भनेर बस्नु भएको छ ।’
उनले उपमहानगरबाट राहत वितरणको लागि योजना नभएको उल्लेख गर्दै तत्काल बोर्डको बैठक बसेर यसको लागि आवश्यक बजेट तथा योजना बनाउन आवश्यक देखिएको बताईन ।