सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोनाको संक्रमणबाट जोगिनको लागि सरसफाईको क्षेत्रमा लामो समयदेखि नेपालगञ्जमा सक्रिय ग्रीन एण्ड क्लिन नेपालगञ्जका अभियन्ताहरुले बुधबारदेखि नेपालगञ्जमा सञ्चालनमा रहेका रिक्सा, टाँगा तथा सार्वजनिक सवारीका साधनका चालक सहचालकका लागि निशुल्क मास्क बितरण गर्न सुरु गरेका छन ।
अभियानका संयोजक डा बिनोद कर्णले धेरैजनासंग सम्पर्कमा आउने रिक्सा, टाँगा तथा सार्वजनिक सवारीका साधनका चालक सहचालकहरु अत्यन्तै असुरक्षित भएको कारणले उनीहरुलाई संक्रमण हुन नदिनको लागि मास्क वितरण गरिएको जानकारी दिए । उनीहरुले बुधबार चौलिक्का नजिकै मास्क बितरण गरेका थिए ।
उनले भने–‘ दैनिक धेरै जनासंगको सम्पर्कमा आउने उनीहरुलाई कोरोनाबाट भन्दा पनि संक्रमणबाट जोगाउन र सचेतना फैलाउन सानो प्रयास सुरु गरेका हौ ।’ उनीहरुको समुहले कपडाको धुन मिल्ने तीनपत्रको मास्क तयार गरी करिव एक हजार चालक सहचालकलाई वितरण गरिएको बताए ।
नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले बुधवारदेखि सीमा क्षेत्रमा अत्यावश्यक बाहेक अनय सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कोरोना भाईरस रोकथाम टास्कफोर्सका संयोजक कुमारबहादुर खड्काले जानकारी दिए ।
उनले अत्यावश्यक काम प्रयोग हुने एम्बुलेन्स, मालबाहक सवारीका साधन भने सन्चालनमा आएको बताए । सवारीसाधन सन्चालनमा रोक लगाएपछि मानिसको आवागमन कम हुने र उनीहरुको स्वास्थ्य परीक्षणको काममा सहजता थपिने नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।
बुधवार बिहानैदेखि पाल टाँगेर स्वास्थ्यकर्मीहरुले नाकामा प्रवेश गर्ने हरेक नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाईएको छ ।