सदरलाइनडटकम,
डोटी : डोटीको पूर्वीचौकीमा शनिवार बेलुकी एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौ, तोरी तथा तरकारीलगातयका बालीमा ठूलो क्षति पुर्याएको छ । पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले एकाएक परेको असिनाले यहाँका गहुँ, जौ, तोरी र तरकारीबाली पूरै सखाप पारेको बताए ।
असिनाले पाकेर भित्र्याउनै लागेको हिउँदे बालीमा नोक्सान गरेपछि त्यहाँका किसान चिन्तामा परेका छन् । जिल्लाका लेकाली क्षेत्रमा ती खेतीको भरमा आश्रित किसान असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौ खेतीमा क्षति पुर्याएपछि निरास भएको स्थानीय भरतबहादुर बोहराले बताए ।
गत महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौँलागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान शनिवार परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पुर्याएपछि निराश भएका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले पूर्वीचौकी गाउँपालिकासहित अन्य स्थानमा असिनाले पुर्याएको क्षतिबारे जानकारी लिने काम भइरहेको बताए ।