सदरलाइनडटकम,
अछाम : हत्या भएको भनिएका अछामको पञ्चदेवल बिनायक नगरपाकिला–२ माथिल्लो बिनायकका वडाध्यक्ष पदमबहादुर धामीको शव भैंसीको गोठभित्र फेला परेकोबारे अनुसन्धान शुरु भएको छ । अनुहारभरि रगत लत्पतिएको अवस्थामा उनको शव मंगलवार बिहान भेटिएको थियो ।
माथिल्लो बिनायक स्थित धामीगाउँको गैरीगाउँ भन्ने ठाउँमा स्थानीयको भैंसी बाधेको गोठभित्र धामीको शव भेटिएको नेपाली काँग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार अध्यक्ष धामीको हत्यापछि शव गोठमा लगेर फालिएको हुनसक्ने आशंका गरिएको छ ।
हत्या कसले र किन गरेको हो भन्ने बारे खुल्न नसकेको पनि उनको भनाई छ । बिहान ७ बजे भैंसीलाई घाँस हाल्न गोठमा गएकी एक महिलाले शव देखेपछि घटना सार्वजनिक भएको हो । घटनापछि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार शवको अवस्था अध्ययन गर्नुका साथै घटनास्थल वरिपरिको स्थितिसमेत अवलोकन गरिएको छ । तर घटना हत्या हो होइन भन्ने विषयमा यकिन हुन नसकेको उनको भनाई छ । मृतक ४० वर्षीय धामी नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।