सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : उपनिर्वाचनको नतिजा आउन शुरु भएको छ । निर्वाचन आयोगका अनुसार शनिवार राती आठ बजेदेखिनै मतगणना शुरु गरिएको हो । सल्यानको कुमाख गाउँपालिका ५ मा पनि मतगणना सकिएको छ । गाउँपालिका ५ को वडा अध्यक्षको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी निर्वाचित भएका छन् ।
नेकपाका उम्मेदवार बुढाथोकीले ७ सय ९२ मत ल्याई विजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खड्ग बहादुर बोहराले २ सय ५१ मत प्राप्त गरेका छन्। राप्रपाका गोपाल शाहले २१ मत प्राप्त गरेका छन् । १ हजार ८ सय ३९ मतदाता मध्ये १ हजार १ सय २४ मत खसेको थियो । जसमा ६० मत बदर भएको छ ।
वडाअध्यक्षको उपचुनावमा ६१ दशमलव १२ प्रतिशत मत खसेको थियो । सरस्वती माध्यमिक विद्यालय झारकाँडा (क) केन्द्रबाट महिला ३ सय १२ र पुरुष २सय ८१ मतदान खसेको थियो भने (ख) केन्द्रबाट २सय ८८ महिला र २सय ४३ पुरुष मत खसेको थियो ।
यस्तै रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जनकबहादुर बुढा मगर विजयी भएका छन् । उनका १ सय ७४ मत प्राप्त गरी वडाअध्यक्षमा विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कलमबहादुर रोका मगरले २६ मत प्राप्त गरे । २ सय ९ मत खसेको थबाङ १ मा ९ मत बदर भएको छ । आज भएको उपचुनावमा २ सय ९ जनाले मात्रै मतदान गरेका थिए ।
१ हजार २ सय ७४ जना मतदाता रहेको वडामा २ सय ९ जनाले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । थबाङ १ मा स्वतन्त्रबाट भद्रकुमार झाँक्रीले उम्मेदवारी दिए पनि सहमति हुन नसकेको भन्दै उम्मेदवारी फिर्ता लिएका थिए ।