सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकालाई अभिभावकविहिन, सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर एवं कार्यवाहक मेयर उमा थापा मगरले बिहीवार आयोजित औपचारिक कार्यक्रममा नेपालगञ्जलाई देशकै पहिलो उपमहानगरपालिकाको रुपमा अभिभावकविहिन, सहयोगापेक्षी सडक मानवमुक्त भएको घोषणा गरे ।
घोषणासभामा सामाजिक विकास मन्त्री बरालले कुनैपनि नागरिक अभिभावकविहिन भएर सडकमा बाँच्नुपर्ने अवस्था अन्त्यका लागि सरकार लागिपरेको भन्दै अभिभावकविहिनको अभिभावक सरकार भएको बताए ।
उपमेयर थापाले २०७३ सालदेखि सहयोगापेक्षी, सडक मानवमुक्त उपमहानगरपालिका बनाउने उद्देश्य अनुसार लागिपरेको बताइन् । यसखालका ब्यक्तिको उद्धार, औषधोपचार, पालनपोषण, खाना,नाना, छानासँगै बालबालिकाको अध्ययन अध्यापन जस्ता क्रियाकलाप गरिरहेको उनको भनाई छ ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख महिला विकास अधिकृत शोभा शाह, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, निल सागर सेवाश्रमका सरिता खनाललगायतले शुभकामना ब्यक्त गरे । कार्यक्रममा सहयोगी संस्था र ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । घोषणा कार्यक्रमअघि नेपालगञ्जमा र्याली निकालिएको थियो ।