सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघले आयोजना गरेको मेयर कप अन्तर स्कूल फुटबल प्रतियोगितामा आदर्श मावि नेपालगञ्ज र एबीसी रेसिडेन्टल विजयी भएका छन् । मंगलवारका दुवै खेल एकतर्फी भएको छ । पहिलो खेलमा आदर्शले स्टार फ्यूचरलाई ५–० गोलले पाखा लगायो ।
आदर्शका तर्फबाट विकास नेपालीले दुई, रोशन बुढामगर र रोशन घिमिरेले एक÷एक गोल गरेका थिए । मध्यान्तरसम्म एक गोलले अघि रहेको आदर्शले त्यसपछि चार गोल थपेको थियो । स्टार फ्यूचरको मध्यान्तरपछि तय बिग्रेको थियो । दोस्रो खेलमा शुरुवाती गोल खाएपछि एबीसीले पुनरागमन गर्यो । उसले पशुपति मावि राँझालाई ४–१ गोलले पराजित गर्यो । पहिलो गोल भने पशुपतिका विवेक खत्रीले गरेका थिए । खत्रीले टाढैबाट हानेको बल एसीबीका किपरको टाङमुनीबाट छिरेर जाली चुमेको थियो ।
गोल खाएपछि आक्रमक बनेको एबीसी मध्यान्तर अघि नै खेलमा फर्कियो । मध्यान्तरसम्ममा २–१ गोलले अगाडि रहेको एबीसीले त्यसपछि दुई गोल थपेको थियो । एबीसीका तर्फबाट सुभाष विष्टले दुई, विनोद बुढाथोकी र प्रदीप विष्टले एक/एक गोल गरेका थिए । यो खेलमा भने कार्डको वर्षा नै भयो । एबीसीका तीन र पशुपतिका एक खेलाडीले पहेलो कार्ड पाए । एबीसीका विनोद बुढाथोकी, विजय थापा र नविन चन्द तथा पशुपतिका प्रज्ञान योञ्जनले पहेलो कार्ड पाएका थिए । पहिलो खेलमा आदर्शका गणेश बुढाले पहेलो कार्ड पाएका थिए ।
संघले एक कार्ड बराबर दुई सय रुपैया जरिवाना गराउने गरेको छ । खेलाडीलाई अनुशासनमा राख्न यस्तो नियम बनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा धम्बोझीस्थित ग्रासरुट फुटबल मैदानमा भइरहेको मेयर कप अन्तर मावि÷निमा छात्र फुटबल प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ । बुधबार पनि दुई वटा खेल राखिएको छ । पहिलो खेल दीपज्योति विद्याश्रम र युनाइटेड एजुकेशनल तथा दोस्रो सनविम स्कूल र ब्रिज इन्टरनेशनलका बीचमा प्रतिस्पर्धा हुने संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।