सदरलाइनडटकम,
नेपालगञ्ज : लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आइतवारदेखि शुरु भएको छ । ‘लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ १६ दिने अभियान शुरु भएको हो ।
नेपालमा २०५४ सालदेखि महिला तथा बालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक समानता कायम गर्न नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरिँदै आएको छ ।
लैंगिक हिंसाविरुद्धको अभियानका अवसरमा बाँकेमा पनि विभिन्न कार्यक्रम गरिँदै छ । संघीय सरकारका मन्त्रालय, सातवटै प्रदेश सरकार, सबै जिल्ला समन्वय समितिले विभिन्न कार्यक्रम गरी सामाजिक सचेतना अभियान सञ्चालन गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ । यसैबीच लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देश जारी गर्दै नेपालले महिला हक, अधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको बताएका छन् ।