सदरलाइनडटकम,
खजुरा (बाँके) : विश्व वातावरण दिवस २०७५ का अवसरमा बाँकेको खजुरामा वृहद् सरसफाई गरिएको छ । खजुरा गाउँपालिकाको आयोजनामा भएको सरसफाई कार्यक्रममा नेपाल रेडक्रस सोशाइटी वागेश्वरी उपशाखा, आधुनिक युवा संजाल खजुरा, दङ्गा नियन्त्रण गण, इलाका प्रहरी कार्यालय धनौली, शिक्षक, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणहरुको सहभागितामा सरसफाई गरिएको हो ।
इलाका प्रहरी कार्यालय धनौलीको अगाडीबाट शुरु भएको सरसफाई कार्यक्रम खजुरा एक नम्बर पुगेर समापन भएको थियो । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, वडा नं. १ देखि ८ सम्मका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, विभिन्न विद्यालयका शिक्षक, दङ्गा नियन्त्रण गण खजुराका प्रहरी उपरीक्षक वीरबहादुर वलीलगायतले सक्रियतापूर्वक सरसफाई गर्दै आफ्नो ठाउँको सरसफाई आफै गरेर स्वच्छ, सफा र सुन्दर ठाउँको परिकल्पना गर्ने सन्देश दिएका थिए ।
सडक तथा सडक छेउमा जथाभावी फ्याकिएका फोहोरजन्य बस्तुको संकलन गरेर पेडारी खोला नजिक ठूलो खाडल खनेर माटोले पुरिएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका अध्यक्ष्ष कक्षपतिले आफ्नो घर अगाडिको फोहोर आफैले सफा गरेर व्यवस्थापन गर्न अपील गरे । उनले निकट भविष्यमै फोहोर व्यवस्थापनका लागि वृहत योजनासहित फोहोर व्यवस्थापन गर्ने ठाउँको व्यवस्थापन गरिने बताए ।