सदरलाइनडटकम
नेपालगन्ज : गुल्मेली समाज सेवा समिति बाँके नेपालगन्जले गुल्मेली दिदी बहिनीलाई शनिवार तीज विशेष कार्यक्रमका बीच दर खुवाएको छ ।
विशेष समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य बाबुराम गौतमले गुल्मेली समाज सेवा समिति बाँकेले तीज विशेष कार्यक्रम आयोजना गरेर गुल्मेलीलाई भावनात्मक रुपमा जोड्ने काम गरेकोमा स्राहना गरे ।
उनले आगामी दिनमा थप सिर्जनशिल काम समेत गर्न आग्रह गर्दै आफूले सक्दो सहयोगको लागि सदैव सकारात्मक भएको उल्लेख गरे । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गुल्मेलीहरु जहाँ रहे पनि आफ्नो पेशा तथा व्यवसायमा सफल रहेको उल्लेख गर्दै गुल्मेली समाज सेवा समितिको सक्रियता प्रति आभार व्यक्त गरे ।
तीज विशेष समारोहमा गुल्मी घर भई हाल पेशा तथा व्यवसायको सिलसिलामा बाँकेमा रहेर प्रदेश, स्थानीय तह तथा सामाजिक संस्थाको नेतृत्वमा पुगेका व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।
गुल्मेली समाज सेवा समिति बाँकेका अध्यक्ष भाष्कर काफ्लेले प्रदेश सभा सदस्य गौतम, खजुरा गाउँपालिका अध्यक्ष कक्षपति, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयानाथ सुवेदी र नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिका महासचिव भेषराज बस्नेतलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा महिला दिदीबहिनीहरुले परम्परागत तीजको मौलिकता झल्किने गीत गाएर नाचगान समेत गरेको समितिका सचिव भीम कँडेलले बताए ।