सदरलाइनडटकम
१३ जेठ, नेपालगन्ज : नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवस बाँकेमा पनि मनाईएको छ । युनियनका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सहभागिले लोकतन्त्रको रक्षाका लागि प्रेसको भूमिका महत्वपुर्ण रहेको जोड दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथी एवम् नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईरालाले लोकतन्त्र रक्षाको लागि प्रेसको भूमिका शक्तिशाली रहेको बताईन् । उनले राणा शासन, पञ्चायत तथा दोस्रो जनआन्दोलन २०६२ र ०६३ लगायत हरेक आन्दोलनमा प्रेसले खेलेको भुमिका अग्रणी रहेको बताईन् ।
सो क्रममा पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, महासंघ प्रदेश पाँचका महासचिव भेषराज बस्नेत, सचिव शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम, प्रेस चौतारीका अध्यक्ष हेमन्त बिक, प्रेस सेन्टरका अध्यक्ष डक्टप्रसाद धिताल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सोही कार्यक्रममा महासंघ प्रदेश नम्बर पाँचको महासचिवमा निर्वाचित भएका बस्नेत र सचिव चौलागाईलाई युनियनका तर्फबाट सम्मान गरिएको थियो, भने प्रेस युनियन बाँकेका सहसचिव विनयराज त्रिपाठीको ममतामयी आमा स्व. रञ्जना त्रिपाठीको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।
२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारको भेलाबाट लोकतन्त्र र श्रमजिवी पत्रकारको पक्षमा संगठित रुपमा अगाडी बढ्ने अठोट सहित युनियनको स्थापना भएको थियो ।