पत्रकार महासंघको प्रदेशमा सहमति

४ बैशाख २०७५, मंगलवार १८:१५
 

सदरलाइनडटकम
४ बैशाख, नेपालगञ्ज : नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको सातवटै प्रदेश समितिमा प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले भागबण्डा सहित सहमति गरेका छन् ।
पत्रकार महासंघको प्रदेश समितिको बैशाख २२ गते अधिवेशन हुँदैछ । अधिवेशनबाट चयन हुने कार्यसमितिमा मंगलबार एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरले पदहरु भागवण्डा गरेका हुन् । भागवण्डा अनुसार सातवटा भौगोलिक प्रदेश, उपत्यका, प्रतिष्ठान र एसोसिएट गरी १० प्रदेश कार्यसमितिमध्ये सबैभन्दा धेरै प्रेस चौतारीले ५ वटाको अध्यक्ष पद पाएको छ । प्रेस सेन्टरले ३ र युनियनले २ वटा प्रदेशको अध्यक्ष पाउने सहमति भएको छ ।
तीनवटा संगठनको अध्यक्षले गरेको सहमति अनुसार प्रेस चौतारीले प्रदेश १, प्रदेश ३, कर्णाली प्रदेश, प्रदेश ७ र प्रतिष्ठानको नेतृत्व पाएको छ । प्रेस सेन्टरले प्रदेश ४, प्रदेश ५ र उपत्यकाको नेतृत्व पाएको छ । प्रेस युनियनले प्रदेश २ र एसोसिएटको अध्यक्ष पद पाएको छ । कार्यसमितिमा अर्को कार्यकारी पद महासचिवमा प्रेस सेन्टरले ४ वटा, प्रेस चौतारी र प्रेस युनियनले ३र३ वटा प्रदेश भागवण्डा गरेका छन् ।
नेतृत्व मात्र नभई प्रदेश कार्यसमितिका सबै पदमा भागवण्डा गरिएको छ । प्रदेश कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष (महिला) महासचिव, सचिव, सचिव (समावेशी) र कोषाध्यक्ष गरी ७ जना पदाधिकारी रहनेछन् । त्यस्तै सदस्यहरुमा ५ जना खुला, ३ जना महिला, १ जना दलित, २ जना आदिवासी जनजाति, २ जना मधेसी र १ जना अल्पसंख्यकबाट रहनेछन् । सबै प्रदेशमा कुन संगठनले कुन कुन पद पाउने भन्ने सहमति भइसकेको छ । अब बैशाख २२ गते हुने अधिवेशनमा सहभागी हुने पत्रकारले नेतृत्व छनोटमा सहभागी हुन नपाउने भएका छन् ।

Next Post

एबरोल टीएमटी लुम्बिनी यात्रीज विजयी

४ बैशाख २०७५, मंगलवार १८:१५
सदरलाइनडटकम ४ बैशाख, कोहलपुर (बाँके)  : कोहलपुरको क्रिकेट मैदानमा जारी ‘नेपालगन्ज कप’को मंगलवारको खेलमा एबरोल टीएमटी लुम्बिनी यात्रीजले जिसान बांँके ब्लास्टरलाई ६ विकेटले पछाडि पार्दै जित हासिल गरेको छ । प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा टस जितेर एबरोल टिएमटी लुम्बिनी यात्रीजले फिल्डिंग रोजेको थियो । पहिले ब्याटिंगको निम्तो पाएको […]