सदरलाइनडटकम
१० चैत, नेपालगन्ज : नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा नेपालगन्ज उप–महानगरपालिका वडानम्बर २० मा संस्थागत विद्यालयको शु्ल्कमा एकरुपताको पहल गरिएको छ । वडा न २० का अध्यक्ष कृष्ण कार्कीले वडामा संचालित संस्थागत विद्यालयको शु्ल्कमा एकरुपता ल्याउने औपचारिक प्रक्रियाको पहल गरेका छन् ।
संस्थागत विद्यालयको शुल्कमा एकरुपता ल्याउन वडा अध्यक्ष कार्कीले ३ दिन अघि पनि संस्थागत विद्यालयका संचालकसँग छलफल गरेको जनाएका उनले शनिबार वडा अध्यक्ष कार्कीको अध्यक्षतामा बसेको संस्थागत विद्यालय संचालकहरुको बैठकले शुल्क लगायतका बिषयमा एकरुपता ल्याउने निर्णय गरेको हो ।
संस्थागत विद्यालयले मनपरी शुल्क लिदा अभिभावक मारमा पर्न थालेपछि वडा कार्यालयले शुल्कमा एकरुपता लगायतको पहलकदमी थालेको उनले बताए । बैठकले वर्गिकृत भएका र नभएका विद्यालयले लिने भर्ना शुल्क र मासिक शुल्कका बिषयमा सर्वसम्मत निर्णय गरेको जानकारी उनले दिए ।
निर्णयानुसार अनुसार निजीमा ख बर्गमा रहेका विद्यालयले एक हजार पाचसय, ग वर्गमा परेकाले एक हजार तीन सय र बर्गिकरणमा नपरेका विद्यालयले एक हजार रुपिया शुल्क लिन पाउने भएका छन् । यसमा नास्ता समेत समावेश गरिएको छ । यसैगरी नर्सरीमा ख वर्गले एक हजार एक सय ५०, ग बर्गले ९ सय र वर्गिकरणमा नपरेको विद्यालयले ७ सय ५० रुपिया मात्रै शुल्क लिन पाउने छन् ।
यसैगरी कक्षा १० मा ख वर्गले दुई हजार ६ सय र ग वर्गले दुई हजार रुपिया मात्रै शुल्क लिन पाउने निर्णय गरिएको छ । यसैगरी बैठकमा भर्ना शुल्क विद्यालय अवधीमा एक पटक मात्रै लिन पाउने र बार्षिक शुल्क दुई महनाको भन्दा कम बेशी गर्न नपाउने सहमती गरिएको छ ।
वर्गिकरणमा नपरेका विद्यालयलाई तत्काल वर्गीकृत हुन पनि वडा कार्यालयले आहवान गरेको छ । मनिकापुर क्षेत्रमा रहेका ९ वटा विद्यालय मध्ये मासिक पालैपालो वैठक बसी समिक्षासहितको छलफल गरिने पनि तयारी गरिएको छ । शिक्षामा देखिएको अन्यौलतालाई एकरुपता ल्याई देखिएका समस्यालाई नीतिगत रुपमै हल गरिने प्रयास गरिने वडा अध्यक्ष कार्कीले जनाए ।