स्थानीय तहका न्यायिक समिति सक्रिय भएनन्

७ फाल्गुन २०७४, सोमबार ०८:२०
 

७ फागुन, अछाम । संविधानले हरेक स्थानीय तहका उपप्ररमुख वा उपाध्यक्षको संयोजकत्वमा न्यायिक निरुपणका लागि न्यायिक समिति रहने व्यवस्था गरेको छ । तर स्थानीय तहको निर्वाचन भएको लामो समय भइसक्दा पनी स्थानीय तहमा गठन भएका न्यायिक समितिको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन ।

अधिकांश स्थानीय तहमा गठन भएका न्यायिक समितिमा उजुरी आउने क्रम निकै सुस्त छ । कतिपय नागरिक न्यायिक समितिबारे पनि बेखबर छन् भने न्यायिक समितिले गर्ने न्याय निरुपणका कामबारे पनि नागरिकदेखि जनप्रतिनिधिसमेत अनभिज्ञ रहेका छन् ।

जिल्लाका सबैजसो स्थानीय तहका न्यायिक समितिमा उजुरी निकै नगण्य रुपमा मात्रै आएका छन् । जिल्लाको साँफेबगर नगरपालिकाको न्यायिक समितिमा हालसम्म एउटा मात्रै उजुरी दर्ता भएको नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक वीरमला बुडथापाले बताए । छोडपत्रसम्बन्धी उजुरी भएकाले समन्वय भइरहेको तर फछ्र्यौट हुन भने बाँकी रहेको उहाँको भनाइ छ ।

यस्तै, मेल्लेख गाउँपालिकाको न्यायिक समितिमा पनि दुईवटा जग्गासम्बन्धी उजुरी दर्ता भएर न्याय सम्पादन भइसकेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए । अन्य गाउँ तथा नगरपालिकामा पनि न्यायिक समिति निष्क्रिय नै रहेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएको लामो समय भइसक्दा पनि न्यायिक समिति सक्रिय हुन नसक्नुका पछाडि यससम्बन्धी कार्यविधि नहुनु प्रमुख कारण भएको अधिवक्ता खडकबहादुर खड्काको भनाइ छ ।


अधिकांश स्थानीय तहमा उपप्रमुख महिला नै भएको र जनप्रतिनिधिलाई कानूनसम्बन्धी आवश्यक जानकारी नहुँदासमेत समस्या आएको खड्काको भनाइ छ । कार्यविधि नबन्दा, न्यायिक समितिको काम, कर्तव्य तथा अधिकार र न्याय सम्पादनको तरिकाका बारेमा राज्यले छलफल तथा परामर्श नचलाउँदा न्यायिक समिति सक्रिय हुन नसकेको अधिवक्ता खड्काको भनाइ छ ।

न्यायिक समिति अधिकार सम्पन्न र शक्तिशाली समिति भएपनि कार्यविधि अभावले गर्दा जनप्रतिनिधि अलमलमा परेको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले बताए ।

(रासस)

Next Post

आहार र बासस्थान संकटमा परेपछि हराउन थाले गिद्ध

७ फाल्गुन २०७४, सोमबार ०८:२०
७ फागुन, पाल्पा । आहार र बासस्थान व्यवस्थापन नहँुदा हिजोआज गिद्ध हराउन थालेका छन् । प्रकृतिको कुचिकारका रुपमा चिनिने गिद्धको आहार र बासस्थानमा सम्बन्धित निकायले ध्यान नदिँदा गिद्धको संख्या लोप हुन पुगेको हो । कालीगण्डकी नदीका वारिपारिका किनारमा बासस्थान बनाएर वर्षौंदेखि बसोबास गर्दै आइरहेका गिद्ध अहिले देख्न पनि मुस्किल परेको […]