२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

भत्केको पाँच दशकपछि पेडारी नालामा पुल निर्माण शुरु



नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरी र बि गाउँ जोड्ने गडगैँचा (पेडारी) नालामा पुल भत्किएको करिब पाँच दशकपछि नयाँ पुल निर्माण शुरु भएको छ ।

तत्कालिन पुनर्वास कम्पनीले वि.सं २०२५ सालतिर निर्माण गरेको पुल एक दशक नपुग्दै नालमा आएको बाढीले भत्काईदिएको बिगाउँ प्लट नम्बर २० का ७५ वर्षीय लक्ष्मण बुढामगरले जानकारी दिए ।

पुल निर्माण हुन थालेपछि दिनहुँ निर्माणस्थल पुग्ने गरेका थापाले भने, “दिनहुँ ओहोरदोहोर गरेको पुल आँखै अगाडी बाढीले भत्काएपछि अहिलेसम्म निर्माण सुरु नहुँदा हाम्रो पालामा पुल बन्छ भन्ने आशा नै मरिसकेको अवस्थामा अहिले एक्कासी निर्माण कार्य अघि बढेपछि गाउँका बुढापाका सबैजना खुशी भएका छौं ।“

पुनर्वास कम्पनीले तत्कालिन समयमा बाँकेको सीतापुर, सैनिक, बि गाउँ लगायत बर्दियाका किसानले उत्पादन गरेको कपास खजुरा एकनम्बरस्थित कपास विकास समितिको कार्यालयमा सहजरुपमा ट्रयाक्टर र लडिया ओहोरदोहोर गर्न सहज होस भन्ने मुख्य उद्देश्यले यो पुलको निर्माण गरेको स्थानीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाले जानकारी दिए ।

प्रअ सापकोटाले भने, “तत्कालिन समयमा ‘किसानका उत्पादनलाई प्राथमिकता दिएर यो पुल निर्माण गरिएको थियो ।“ कपास विकास समितिको केन्द्रीय कार्यालयदेखि खजुरा २ एक गाउँसम्म ईट्टा बिच्छाएर सडक निर्माण गरिएकोमा अहिले त्यसका भग्नावशेष मात्रै बाँकी छन् ।

नेपालगञ्ज–गुलरीया सडकखण्ड अस्तित्वमा नआईसकेको अवस्थामा नेपालगञ्जबाट बर्दिया पुग्ने सहज मार्ग समेत यहि थियो । पुल निर्माण भएपनि खजुरा वडा नम्बर ३ र ४ का स्थानीय बासिन्दालाई पालिकाको केन्द्र बि गाउँ पुग्न सहज हुनेछ । यसैगरी खजुराको सीतापुर र बर्दियाको डाँफे लगायतका स्थानबाट नेपालगञ्ज, कोहलपुर पुग्न समेत सहज हुने स्थानीय बासिन्दाले जनाएका छन् ।

२०८२ बैशाख १२ मा सम्पन्न गर्ने गरि आकृति–कुमार गणेश जेभीले मुल्य अभिवृद्धि कर बाहेक ६ करोड १० लाख ९० हजार २८६ रुपैयाँमा पुल निर्माणको ठेक्का पाएर कामलाई अघि बढाएको छ ।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिबार
ताजा समाचार