२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

एक वर्ष अगावै नेपालगञ्ज–गुलरिया सडक पूरा हुने



नेपालगञ्ज : राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडकखण्ड बिस्तारको काम निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ ।

११.६ किलोमिटर चार लेन र १६.०२ किलोमिटर दुई लेनगरी २७.६२ किलोमिटर लामो सडक बिस्तार कार्य २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी गत वर्ष माघ १५ गतेदेखि निर्माण कार्य शुरु भएको हो ।

एक वर्षको अवधिमा ५७ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । योजना प्रमुख भण्डारीले भने, ‘काम गरेअनुसारको भुक्तानी समयमै दिन सकेमा निर्माण कम्पनीले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरी काम गरिरहनुभएको छ ।’

भौतिक प्रगतिको आधा २७ प्रतिशत मात्र काम भुक्तानी दिन सकिएको भण्डारीको भनाइ छ । निर्माण कम्पनीले काम गरी भुक्तानीका लागि पेस गरेको ४४ करोडको बिलअनुसारको भुक्तानी हुन बाँकी रहेको छ । बजेट अभाव कायमै रहेमा भने निर्माणाधीन योजना र स्थानीयमा तत्कालीन र दीर्घकालीन प्रभाव पर्ने योजना प्रमुख भण्डारीले बताए ।

निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै भुक्तानी प्राप्त भएमा एक वर्षभित्र उदघाटन समेत गर्न सकिने बताए । शर्माले भने, ‘अहिले सबैतिरबाट उधारोमा काम गर्नुपर्दा पछिल्लो समय समस्या देखिएको छ, रकम नआएपछि फागुनदेखि काम बन्द गर्ने सोच बनाए पनि मन्त्रालयबाट त्यसो नगर्न आग्रह भएपछि मात्र कामलाई अघि बढाएका छौँ ।’

निर्माण कम्पनीले यसवर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्रे गर्नेगरी काम अघि बढाइएको जनाएको छ । शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर बाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा निर्माणको जिम्मा पाएको हो ।

प्रकाशित मिति : २०८० फागुन ९ गते बुधबार
ताजा समाचार