२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

खजुरा र नरैनापुरका विपन्न किसानलाई साना सिँचाइ सुविधा



नेपालगञ्ज : बाँकेको खजुरा र नरैनापुर गाउँपालिकाका ६ वटा गरिब किसान समूहलाई कृषि उत्पादन वृद्धिका लागि साना सिँचाइ सुविधा हस्तान्तरण गरिएको छ । कतार च्यारिटी नेपालद्वारा सञ्चालित नेपाल एकीकृत विकास परियोजना २ अन्तर्गत विपन्न र गरिब किसान समूहको खाद्यान्न उत्पादन र तरकारी खेतीमा संलग्नता तथा आयस्तर बढाउने उद्देश्यले ६ वटा साना सिँचाइ सुविधा प्रदान गरिएको हो ।

खजुरा गाउँपालिकाको २ र ३ मा २ थान र नरैनापुर गाउँपालिकाको ५ र ६ वडा नम्बरमा ४ थान गरी कुल ६ वटा सिँचाइ सुविधा जडान गरेर विपन्न किसान समूहलाई हस्तान्तरण गरिएको कतार च्यारिटि नेपालका कार्यक्रम प्रबन्धक ईर्शाद शेषले बताए । उनले सिँचाइ सुविधा पाएपछि तरकारी लगायतका कृषि उत्पादन बढ्ने र त्यसबाट हुने आर्थिक सक्षमताले उनीहरूलाई आफ्ना छोराछोरीलाई शिक्षा दिन र परिवारका अन्य आधारभूत आवश्यकताहरू पुरा गर्न थप सक्षम बनाउने बताए ।

सानो–सानो समूह बनाएर कृषि उत्पादनमा लागेका किसानलाई सिँचाइ सुविधाको अभावमा खेती गर्न समस्या परेकोले यो सहयोग प्रदान गरिएको कार्यक्रम प्रबन्धक शेषले बताए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जिल्ला अन्य पालिकाको तुलनामा सिँचाइ सुविधा कम भएको नरैनापुरका विपन्न किसानलाई सो सुविधा प्रदान गरिएपछि उनीहरूको उत्पादन वृद्धि भई आर्थिक अवस्थामा सुधार हुने विश्वास व्यक्त गरे । सोही प्रकारले खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले पनि विपन्न साना किसानलाई प्रदान गरिएको सिँचाइ सुविधाबाट उनीहरूले बढी भन्दा बढी लाभ लिने बताए ।

पालिकामा अरू पनि धेरै विपन्न किसान रहेको जनाउँदै उनले उनीहरूलाई पनि कृषि उत्पादन बढाउन सहयोग आवश्यक रहेको बताए । विपन्न र गरिब किसानहरू सम्मिलित समूहले सिँचाइ सुविधा पाएपछि किसानहरू निकै हर्षित भएको र यसको उचित उपयोग र समयमै मर्मतसम्भार गर्ने आश्वासन समेत उनीहरूले दिएको बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी लिमिटेडकी कमला न्यौपानेले बताए ।

उनले यी साना सिँचाइ सुविधाले आवश्यकताको समयमा बालिकालागि पानी उपलब्ध गराउने भएकाले किसान समूहले अब वर्षाको पानीमा भर पर्नु नपर्ने बताए । बाँकेमा कतार च्यारिटिको नेपाल एकीकृत विकास परियोजना २ बाँके युनेस्को क्लबले सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० पुस ११ गते बुधबार
ताजा समाचार