२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

जमुनाह हेल्थ डेस्कको सेवा प्रवाहको बारे स्वास्थ्य विभागको काल्पनिक अभ्यास



नेपालगञ्ज : नेपालगञ्जको सिमानाका जमुनाहमा कोभिड–१९ जस्ता महामारी जन्य रोग नियन्त्रणको लागि स्थापना गरिएको हेल्थ डेस्कले दिदै आएको सेवा प्रवाहको बारेमा स्वास्थ्य सेवा विभाग महामारी व्यवस्थापन शाखाले काल्पनिक स्वास्थ्य अभ्यास गरेको छ ।

बिभागले हेल्थ डेस्कले दिदै आएको सेवाको अवस्थाका बारेमा के कस्तो रहेकोछ भन्ने जानकारी दिनको लागि हेल्थ डेस्कमा खटिएका कर्मचारीलाई जानकारी नै नदिएर भारतबाट नेपाल आउने नागरिकलाई गरिएको सेवा प्रवाहको बारेमा जानकारी लिईएको हो ।

स्वास्थ्य सेवा विभाग महामारी व्यवस्थापन शाखाका प्रमुख डा. अमृत पोख्रेलले सिमामा रहेको हेल्थ डेस्कले प्रभावकारी काम गरेको छ कि छैन भन्ने पत्ता लगाउन यो कार्यक्रमको आयोजना गरिएको बताए ।

‘केन्द्रबाट आएका टोलीमा रहेका केही व्यक्तिहरु नै सीमापारीबाट आउनेसंग मिसिएर अन्य सरह नै हेल्थ डेस्कमा पुगेका थिए । उनीहरुले हेल्थडेस्कबाट पाउनु पर्ने सेवा त्यहाँ रहेका स्वास्थ्यकर्मीले दिए नदिएको बारेमा अनुगमन गरिएको थियो’–उनले भने ।

कार्यक्रममा ईडिसिडीका निर्देशक डा. चुमनलाल दासले सो हेल्थ डेस्कलाई आवश्यक पर्ने करिव ८ लाख मुल्य बारबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्त्रण गरे । उनले महामारी मात्र नभएर सामान्य प्रकारका समस्यामा सेवा प्रवाह गर्नको लागि सहज होस भनेर हेल्थडेस्कलाई सामान हस्तान्त्रण गरिएको बताए ।

सो कार्यक्रममा पाटन अस्पतालका डा. आशिस श्रेष्ठले हेल्थडेस्कमा दिने सेवा र सुविधाको तरिका गुणस्तरको अवस्थाको बारेमा निगरानी गरेको र अपनाउनु पर्ने सावधानीको बारेमा उपलब्ध स्वास्थ्यकर्मीलाई जानकारी गराका थिए ।

कोरोना संक्रमण रोकथाम जिल्ला संयन्त्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जमुनाह हेल्थ डेस्कले भारतबाट आउनसक्ने जोखिमलाई नियन्त्रण गर्नको लागि अहम भूमिका निर्बाह गरेको दाबी गरे ।

बाँकेको जमुनाह नाकाले २०७७ चैत्रदेखि हालसम्म ८५ हजार ५ सय जनाको एन्टिजेन माध्यामबाट कोरोना परिक्षण गरेको र १ हजार ३ सय २ जना संक्रमित पुष्टि भएका थिए । यसैगरी १६ हजार ३ सयको औलो परिक्षण गर्दा ३ जनामा संक्रमण भेटिएको, १ हजार १ सय ५७ जनाको खकार परिक्षण गर्दा १० जनामा टिबि संक्रमण भएको पाईएको र २ सय ६० जनाको एचआईभि परिक्षण गर्दा संक्रमित फेला नपरेको हेल्थ डेस्कका ल्याब टेक्नेसियन चिरञ्जिबी ज्ञवालीले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७९ जेठ ९ गते सोमबार
ताजा समाचार