२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

कृषि ज्ञान केन्द्र बाँकेले चालु आर्थिक वर्षका लागि किसान मैत्री कार्यक्रम सार्वजनिक




नेपालगञ्ज :  कृषि ज्ञान केन्द्र बाँकेले चालु आर्थिक वर्षका लागि बाँकेमा कृषि कर्म गर्ने किसानलाई प्रोत्सान गर्नका लागि कृषि अनुदानका कार्यक्रमलाई मुख्य प्राथमिकताका साथ राखेको जनाएको छ ।

ज्ञान केन्द्रका प्रमुख सागर ढकालले चालु आर्थिक वर्ष २०७८/०७९का लागि बाँकेको कृषि क्षेत्रको विकासको लागि कुल ११ करोड ६१ लाख ६९ हजार बजेट स्वीकृत भएको बताउदै यो वर्ष किसान अनुदानका कार्यक्रमलाई विशेष जोड दिएको स्पष्ट पारे ।

उनले किसान अनुदानको लागि यो वर्ष ७ करोड ४ लाख ४१ हजार रुपैया किसानलाई प्रत्यक्ष अनुदान वितरण गरिने गरि कार्यक्रम तयार गरिएको बताए । यि मध्ये ४ करोड ५६ लाख २८ हजार सेवा मुलक खर्च अन्तर्गत छुट्टाइएको छ । जसमा तालिम, गोष्ठि, भ्रमण, कर्मचारी तलब भत्ता लगाएतका रहेको छ ।

उनले स्वीकृत कार्यक्रममा स्मार्ट कृषि गाउँ कार्यक्रमलाई क्रमागत रुपमा राखेको, सघं शसर्त अनुदान मार्फत ब्लक विकास कार्यक्रमलाई पनि निरन्तरता दिइने गरि कार्यक्रम बनाएको, अभियान मुखि (मिसन) कृषि तथा पशुपन्छि विकास कार्यक्रम, कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम, कृषि तथा पशुपन्छि स्रोत तथा प्रविधि सेवा टेवा बिस्तार कार्यक्रमलाई जोड दिएको बताए ।

सार्वजनिक गरिएको कार्यक्रमले स्मार्ट कृषि गाउँ कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि तर्फको व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रमलाई निरन्तरता दिएको छ ।

यसैगरी अभियानमूखि (मिसन) कृषि तथा पशुपन्छि विकास कार्यक्रम अन्तर्गत रोड, करिडोर लक्षित कार्यक्रम, त्यस्तै फलफुल विरुवा रोपण अभियान, मकै मिसनको क्रमागत, मकै मिसन नयाँ, आलु मिसन नयाँ, दलहन मिसन कार्यक्रमलाई राखेको छ ।

कृषि उत्पादन खाद्य तथा पोषण कार्यक्रम अन्तर्गत बजारीकरणका लागि ५० प्रतिशत अनुदानमा अटो रिक्सा वितरण, च्याउ ग्राम स्थापना फलोअप कार्यक्रम, फलफुल बगैचा सुदृढिकरण कार्यक्रम, साना सिंचाई सहयोग सहित कृषि उत्पादन कार्यक्रम, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम, बिउ आत्मनिर्भर कार्यक्रम (खाद्यान्न, दलहन, तेलहन), तरकारी, पुष्प तथा फलफुल नर्सरी स्थापना सुदृढिकरण कार्यक्रम, भूमिहीन किसानका लागि करार खेती, स्थानीय तहसँगको सहकार्यमा करार खेती कार्यक्रम जस्ता कार्यक्रम प्राथामिकतामा रहेका छन् ।

ज्ञान केन्द्र प्रमुख ढकालको अध्यक्षतामा भएको कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विक केन्द्र बाँकेका प्रमुख कमला अधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहीबार
ताजा समाचार