२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

विप्लब नेताहरुको साथबाट हतियार बरामद



सदरलाइनडटकम,
दाङ : देउखुरीको राजपुर गाउँपालिका ४ मुङग्रेठाबाट पक्राउ परेका प्रतिबन्धित नेकपाका नेताहरुको साथबाट हतियार सहित महत्पूर्ण कागजात समेत प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिहरुको बारेमा र उनिहरुको साथबाट बरामद गरेका हतियार, नगद पैसा सहित अन्य महत्पवूर्ण दस्ताबेजहरु सार्वजनिक गरेको हो ।
प्रहरीले शुक्रवार प्रेस बिज्ञप्ती जारी गरी ६ थान पेस्तोल, २ थान म्यागजिन, ९ वटा गोली, एउटा सुलती बम, ३ लाख ८४ हजार ५ सय तीस रुपैयाँ नगद बरामद गरेको उल्लेख गरेको छ । साथै ३७ थान मोवाईल सेट, ग्लोवल आईएमईको ४ वटा चेक, २१ वटा झोला, १६ वटा डायरी, १३ वटा विभिन्न राजनैतिक दर्शनका किताब, चन्द उठाउन प्रयोग हुने ३० वटा लेटर प्याड र पार्टीको स्ट्याम्प छाप एक थान बरामद भएको प्रहरी प्रबक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिनुभएको छ ।
बरामद गरेका हतियार मध्य दुई वटा पेस्तोल लोड गरिएको अबस्थामा प्रहरीले भेटाएको छ । नेकपाका नेताहरुको महत्वपूर्ण बैठक बसिरहेको भन्ने सूचना पाएको प्रहरीले बैठक स्थल नै नियन्त्रणमा लिएर पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज विरजंग भनिने चन्द्रबहादुर चन्द सहित २१ जना नेताहरुलाई गिरफ्तार गरेको हो ।
पक्राउ पर्नेहरुमा राप्ती व्यूरो इन्चार्ज केशबहादुर बाँठा सुबाष, युवा संगठनका केन्द्रिय अध्यक्ष दिपराज सेर्पाली पाटन, रोल्पा जिल्ला इञ्चार्ज सन्तोष सुबेदी प्रयास, न्यायिक विभाग संयोजक रामबहादुर थापा सहित २१ जना रहेका छन् । पक्राउ परेकाहरुलाई संगठित अपराध तथा राज्य बिरुद्धको अपराधमा मुद्दा दर्ता गरेर कार्वाही शुरु भएको प्रहरीले जनाएको छ । उनिहरुको बैठकमा पार्टीका प्रमुख महासचिब नेत्रबिक्रम चन्द विप्लव उपस्थित हुने भन्ने सूचना प्रहरीलाई आए पनि त्यसबारे केही खुलेको छैन् ।

प्रकाशित मिति : २०७६ कात्तिक १ गते शुक्रबार
ताजा समाचार