
नेपालगञ्ज : नेपालगञ्ज म्याराथनमा रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सहकार्य गर्ने भएको छ । खेलकुदमा सबैको समान सहभागिता सुनिश्चित गर्दै अपाङ्गता भएका व्यक्तिलाई पनि प्रतिस्पर्धात्मक दौडमा जोड्ने उद्देश्यले नेपालगञ्ज म्याराथनमा रोटरी क्लबले सहकार्य गर्ने भएको हो ।
म्याराथनअन्तर्गत सञ्चालन हुने ३ किलोमिटर ह्वीलचेयर दौडलाई विशेष प्राथमिकता दिँदै रोटरीले पाँच वर्षसम्म सहकार्य गर्ने सम्झौता गरेको आयोजकले जनाएको छ ।यससँगै अपाङ्गता भएका व्यक्तिको खेल सहभागिता, समावेशिता र खेलकुदमा पहुँच विस्तार गर्ने प्रयासलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।
नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी र रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष ईश्वरी जंग मल्लबीच पाँचवर्षे सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार ह्वीलचेयर दौडमा विशेष सहयोग गर्नुका साथै रोटरीका सदस्यलाई पनि म्याराथनका विभिन्न विधामा सहभागी गराइनेछ ।
रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष मल्लले समुदायका विभिन्न क्षेत्रका व्यक्तिलाई दौड संस्कृतिसँग जोड्दै सामाजिक एकता र सहभागिता अभिवृद्धि गर्ने उद्देश्य रहेको बताए ।
नेपालगञ्ज म्याराथनको १२औं संस्करण आगामी मंसिर १२ गते नेपालगञ्जमा आयोजना हुँदैछ । यस वर्ष म्याराथनमा पूर्ण म्याराथन, हाफ म्याराथन, विभिन्न दूरीका खुला दौड, विद्यालयस्तरीय दौड, ह्वीलचेयर दौड, कर्पोरेट रन र फेमिली रनसहित १२ विधा समावेश गरिएको आयोजकले जनाएको छ ।
सन २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथनले यस वर्ष १२ वटा सामुदायिक संस्थासँग सहकार्य गर्ने तयारी गरेको छ ।











प्रतिक्रिया दिनुहोस्