२०८३ कात्तिक २१ , शुक्रबार
Sadarline
२०८३ कात्तिक २१ , शुक्रबार

यमपञ्चकको पहिलो दिन धनतेरसको रुपमा मनाईदै कुचो,धनिया भाँडाकुँडा किन्नेको भिड



नेपालगञ्ज : हिन्दू समुदायको दोस्रो ठूलो पर्व शुभ दिपावलीको पहिलो दिन अर्थात यमपञ्चकको पहिलो दिन धनतेरस तथा यमदीपदानको रुपमा मनाउने गरिन्छ ।

हिन्दू समुदायको दोस्रो ठूलो पर्व तिहार अर्थात दिपावलीको पहिलो दिन धनतेरस भनिने र आज यमपञ्चकको पहिलो दिन धनतेरसका दिनमा घरभित्र कुचो, धनिया, भाँडाकुँडा, सुन, चाँदी लगायतका वस्तुहरु खरिद गर्दा लक्ष्मीको बास घरमा हुने र सधै धनकी देवी लक्ष्मीको आफूमाथि कृपा रहने विश्वास अनुसार यी सामानहरु खरिद गर्ने चलन रहेको छ ।

लक्ष्मीपूजाको दिनमा दिपावली गर्दा आज यमपञ्चक पहिलो दिन अर्थात धनतेरसको दिनमा खरिद गरेको सरसामानमा राखेर पूजा गर्ने चलन रहेको छ । सोही चलन अनुसार आज नेपालगञ्जमा सञ्चालनमा ल्याईएको तिहार बजारमा कुचो, धनियाँ भाँडाकुँडा तथा सूनचाँदी खरिद गर्नेको घुईचो लागेको छ । तिहारको अवसरमा पसलहरु पनि बाटो मिचेरै सञ्चालनमा ल्याईएको छ ।

आज नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गरेर धनतेरस मनाउने परम्परा छ । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने छ । कात्तिक २५ गते भने भाइटीका परेको छ ।

चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले ६ दिनको भएको छ ।

आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी तिथी लाग्ने भएकाले धनतेरस मनाउन लागिएको पण्डित नारायणप्रसाद दुलाल बताउछन । उनका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहन्छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शुक्रबार
ताजा समाचार