समाचार सारांश
- नेपालगञ्जमा सशस्त्र प्रहरीले ४३ हजार क्याप्सुल प्रतिबन्धित ट्रामाडोलसहित लागूऔषध ओसारपसारमा प्रयोग भएको मोटरसाइकल बरामद गरेको छ।
- खजुरा क्षेत्रमा चेकजाँचका क्रममा बरामद गरिएको लागूऔषध र मोटरसाइकल आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।
- सीमावर्ती क्षेत्रमा क्यानाइन डगसहित नियमित निगरानी र चेकजाँच बढाएपछि लागूऔषध नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको सशस्त्र प्रहरीले जनाएको छ।

नेपालगञ्ज : सशस्त्र प्रहरी बल नेपाल, ३० नम्बर गण, हेडक्वाटर बागेश्वरी बाँकेले सीमावर्ती क्षेत्रबाट ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध ट्रामाडोल बरामद गर्न सफल भएको छ ।
बाँकेको खजुरा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालबाट खटिएको ड्युटी टोलीले सीमावर्ती इलाकामा चेकजाँच गर्ने क्रममा ४३ हजार क्याप्सुल ट्रामाडोल सहित लागूऔषध ओसारपसारमा प्रयोग भएको एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीको ड्युटी टोलीलाई देख्ने वित्तिकै ओसारपसारमा संलग्न व्यक्तिहरू भने फरार भएको जनाइएको छ । बरामद लागूऔषध तथा मोटरसाइकल आवश्यक अनुसन्धान र थप कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल, ३० नम्बर गण, हेडक्वाटर बागेश्वरी बाँके जनाएको छ । प्रारम्भिक विवरणअनुसार उक्त परिमाण बाँके जिल्लामा बरामद भएको ट्रामाडोलको ठूलो परिमाणमध्ये एक हुन सक्ने बताइएको छ ।
पछिल्लो समयमा सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण, हेडक्वाटर बागेश्वरीले बाँकेको सीमावर्ती क्षेत्रमा तालिमप्राप्त क्यानाइन डगसमेत परिचालन गरी लागूऔषधविरुद्ध विशेष अभियान सञ्चालन गर्दै आएको छ । सीमावर्ती नाका तथा संवेदनशील क्षेत्रमा क्यानाइन डगको प्रयोगसहित नियमित चेकजाँच र निगरानी बढाइएपछि लुकाइछिपाइ हुने लागूऔषध ओसारपसार नियन्त्रणमा थप प्रभावकारिता आएको छ ।

क्यानाइन डग परिचालनपछि सीमाबाट लागूऔषध बरामद हुने क्रम बढ्नुका साथै लागूऔषध ओसारपसारमा संलग्न व्यक्ति तथा सेवनकर्तामा समेत चेकजाँच र निगरानीप्रति त्रास बढेको देखिएको छ । सीमामा हुने लागूऔषधको अवैध ओसारपसारमा केही कमी आएको महसुस गरिएको र निरन्तरको निगरानी तथा कडाइले यसको नियन्त्रणमा सकारात्मक प्रभाव परेको सुरक्षा निकायको भनाइ छ ।
विशेषगरी तालिमप्राप्त कुकुरको प्रयोगले सामान्य आँखाबाट पहिचान गर्न कठिन हुने अवस्थामा लुकाइएका लागूऔषधसमेत पत्ता लगाउन सहयोग पुगेको छ। यसले सीमावर्ती क्षेत्रमा हुने लागूऔषध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीको चेकजाँचलाई थप प्रभावकारी र विश्वसनीय बनाएको छ ।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा लागूऔषध तथा अन्य अवैध गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै क्यानाइन डग परिचालन, नियमित चेकजाँच, निगरानी तथा सूचना संकलनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । सीमालाई सुरक्षित र लागूऔषधको अवैध ओसारपसारमुक्त बनाउने उद्देश्यसहित अभियानलाई निरन्तरता दिइने सशस्त्र प्रहरीको भनाइ छ ।


