समाचार सारांश
- बर्दियाका सात स्थानीय तहमा ‘सेफ फ्युचर प्रोजेक्ट’ अन्तर्गत बालविवाह न्यूनीकरण, बाल संरक्षण र समावेशी समाज निर्माणबारे अभिमुखीकरण तथा परियोजना परिचयात्मक बैठक सम्पन्न भएका छन्।
- बैठकमा तथ्याङ्कमा आधारित योजना, स्थानीय समन्वय, बाल संरक्षण प्रणाली सुदृढीकरण र युवाको सहभागितामा जोड दिइएको छ।
- बालविवाह रोकथाम, लागूऔषधविरुद्ध सचेतना तथा सुरक्षित र समावेशी समुदाय निर्माणका लागि स्थानीय तहले प्रतिबद्धता जनाएका छन्।

बर्दिया : प्लान इन्टरनेसनल नेपालको सहयोग तथा बाँके युनेस्को क्लब र राधाकृष्ण थारू जनसेवा केन्द्रको संयुक्त साझेदारीमा बर्दियाका सात स्थानीय तहमा बालविवाह न्यूनीकरण, बाल संरक्षण र समावेशी समाज निर्माणका लागि पालिका स्तरीय अभिमुखीकरण तथा परियोजना परिचयात्मक बैठक सम्पन्न भएका छन् ।
‘सेफ फ्युचर प्रोजेक्ट’ अन्तर्गत प्लान इन्टरनेसनल नेपालको सहयोग तथा बाँके युनेस्को क्लब र राधाकृष्ण थारू जनसेवा केन्द्रको संयुक्त साझेदारीमा (कन्सोर्टियम मोडल) सो कार्यक्रम आयोजना गरिएको हा ।
बर्दियाका गुलरिया, मधुवन, राजापुर, बारबर्दिया, ठाकुरबाबा नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा सञ्चालन गरिएका यी बैठकहरूमा स्थानीय सरकारका जनप्रतिनिधि, विषयगत शाखा प्रमुख, सरकारी निकाय, समुदाय तथा अन्य सरोकारवालाहरूको व्यापक सहभागिता रहेको थियो ।
कार्यक्रममा परियोजनाका उद्देश्य, प्राथमिकता र अपेक्षित परिणामका साथै एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली तथ्याङ्कको अद्यावधिक, तथ्याङ्कमा आधारित योजना निर्माण र प्रभावकारी कार्यान्वयनका विषयमा गहन छलफल भएको छ ।
बैठकका मुख्य निष्कर्ष तथा प्रतिबद्धताहरू
बैठकले गुणस्तरीय तथा एकीकृत तथ्याङ्क, सुदृढ समन्वय, जवाफदेही साझेदारी र समुदायको अर्थपूर्ण सहभागितालाई नै बालविवाहमुक्त तथा सुरक्षित स्थानीय तह निर्माणका मुख्य आधारका रूपमा ठहर गरेको छ ।
विशेषगरी स्थानीय तहमा उपलब्ध तथ्याङ्कलाई व्यवस्थित, अद्यावधिक र प्रयोगयोग्य बनाउँदै बालबालिका, किशोरकिशोरी तथा युवासँग सम्बन्धित नीति, योजना, बजेट तथा कार्यक्रमहरू निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।
यसका साथै परियोजनाअन्तर्गत प्रशिक्षित युवाहरूले हासिल गरेका ज्ञान र सीपलाई आफ्नै समुदायमा व्यावहारिक रूपमा प्रयोग गर्दै उनीहरूलाई सकारात्मक सामाजिक परिवर्तनका संवाहकका रूपमा परिचालन गर्ने निष्कर्ष निकालिएको छ ।

स्थानीय सरकार, समुदाय, विद्यालय र विकास साझेदारहरूबीच निरन्तर संवाद कायम राख्दै समुदायमा देखिने चुनौती र जोखिमहरूको समयमै पहिचान र समाधान गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
यसैगरी, बाल संरक्षणसम्बन्धी संरचनागत प्रणालीलाई सुदृढ बनाउँदै बालबालिका तथा युवाहरूका लागि सुरक्षित र समावेशी वातावरण निर्माण गर्न स्थानीय जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् ।
विशेषगरी २० वर्षभन्दा कम उमेरमा हुने बालविवाह रोक्नका लागि स्थानीय बाल अधिकार समितिलाई थप सक्रिय र प्रभावकारी बनाएर समुदायस्तरसम्म परिचालन गरिनेछ । बालविवाहसम्बन्धी घटनाको पहिचान, अभिलेखीकरण र रोकथामका लागि प्रचलित कानुनअनुसार कडा कारबाही र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायहरूसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
साथै, समुदायमा बढ्दो लागूऔषध दुव्र्यसनबाट बालबालिका र युवाहरूलाई जोगाउन सामुदायिक प्रहरीसँगको सहकार्यमा निरन्तर सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र जोखिममा रहेकाहरूलाई परामर्श तथा सहयोग उपलब्ध गराउने सहमति भएको छ ।
समग्रमा, स्थानीय सरकार, समुदाय र विकास साझेदार संस्थाहरू साझा जिम्मेवारीका साथ एकजुट भएर लाग्दा बालविवाहमुक्त, लागूऔषधमुक्त र सुरक्षित समुदाय निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।


