समाचार सारांश
- रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनमै तिलोत्तमा र बुटवलबाट १६ वटा गोमन सर्पका बच्चा उद्धार गरी सुरक्षित रूपमा जंगलमा छोडेका छन्।
- गोमन सर्पले अण्डा कोरल्ने समय भएकाले एकै स्थानमा धेरै बच्चा भेटिन सक्ने भन्दै घर वरपर विशेष सावधानी अपनाउन र सर्प देखिएमा नमारेर उद्धारकर्तालाई खबर गर्न आग्रह गरेका छन्।
- पाण्डेले गत वर्ष तिलोत्तमाको एक घरबाट पाँच दिन लगाएर २३ वटा गोमन सर्पका बच्चा उद्धार गरेका थिए भने यस वर्ष बुटवलमा १६ वटा अजिङ्गरका बच्चासमेत उद्धार गरिएको थियो।

बुटवल : रुपन्देहीको तिलोत्तमाका सर्प उद्धारकर्ता बिशाल पाण्डेले दुई दिनको बीचमा १६ वटा गोमन सर्पका बच्चाको उद्धार गर्न सफल भएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ नमुना टोलस्थित एक घरबाट १० वटा गोमनका बच्चाहरू सुरक्षित उद्धार गरेको अर्को दिन मंगलवार बुटवलको देवीनगरबाट थप ६ वटा गोमन सर्पका बच्चाको उद्धार गरेका हुन ।
सर्प उद्धारकर्ता विशाल पाण्डेले उद्धार गरिएका गोमनका बच्चा सुरक्षित स्थान (जंगल) मा लगेर छोडिएको छ । सर्प उद्धारकर्ता पाण्डेले मंगलबार दिउँसोमात्रै बुटवलको देवीनगरको एक घरमा सिँढीको प्वालभित्र रहेका तीनवटा गोमन सर्प उद्धार गरेको बताए ।
पाण्डेका अनुसार अहिले गोमन सर्पले अण्डा कोरल्ने समय चलिरहेकोले यो अवधिमा एकै स्थानमा १० देखि ५०–६० वटासम्म गोमनका बच्चाहरु भेटिन सक्ने सम्भावना हुन्छ ।
उनले गर्मी समेत बढेको र पानी परेकोले सर्पहरु ओभानो ठाउँ खोज्ने भएकोले अहिले घर, आँगन, गोठ तथा झाडी वरपर विशेष सावधानी अपनाउन आग्रह समेत गरे ।

सर्प देखिएमा एक्कासी आत्तिने, आफैं समात्ने वा मार्ने प्रयास नगर्न आग्रह गर्दै पाण्डेले सर्प उद्धारकर्तालाई खबर गर्न अनुरोध गरे । पाण्डेले विगत केही बर्षदेखि गाउँघरमा देखिने सर्प सुरक्षितरुपमा उद्धार गरी जंगलमा छोड्दै आएका छन ।
पाण्डेले ठिक एक बर्षअघि रूपन्देहीको तिलोत्तमा–५, प्रेमनगरस्थित एकै घरबाट २३ वटा गोमन सर्प ‘बेबी कोब्रा’ को उद्धार गरेका थिए । असार २२ गते डिलाराम अर्याललाई आफ्नै भान्सा कोठामा सर्पले टोकेपछि सर्प खोज्दै जाँदा सर्पको गुँड फेला परेको थियो ।
सर्प उद्धारकर्ताको टोलीले गत बर्ष अर्यालको घरमा गुँड बनाएर बसेका ती सर्पलाई पाँच दिन लगाएर उद्धार गरेको थियो । अर्यालको घरभित्र खोजी गर्दा भान्सा कोठाको ¥याकमुनि कोब्राले गुँड नै बनाएर बच्चा कोरलेको अवस्थामा भेटिएको थियो ।
त्यसपछि विशालसहितको टोलीले पाँच दिन लगाएर कुल २३ वटा कोब्राका बच्चालाई सुरक्षित रूपमा उद्धार गरेको सर्प उद्धारकर्ता पाण्डेले सम्झिए । यो बर्षमात्रै गएको साता रुपन्देहीको बुटवलस्थित योगीकुटीमा रहेको विद्युत् सबस्टेसन परिसरबाट १६ वटा अजिङ्गरका बच्चा उद्धार गरिएको थियो ।


